हामीलाई भूराजनीतिक संघर्षले निरीह बनायो: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई जेनजी आन्दोलनको समयमा भूराजनीतिक संघर्षले निरीह बनाएको टिप्पणी गरेका छन् ।
आइतबार पार्टीको उपत्यका समितिले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको बेला आफूहरूलाई पार्टीको नेता, कार्यकर्ताले नबचाएको गुनासो गरेका हुन् ।
संयोजक दाहालले तत्कालीन अवस्थामा प्रक्रियावादीहरूले चाहेको भए आफूलाई समाप्त पार्ने अवस्था रहेको पनि बताए । उनले जेनजी आन्दोलनमा विध्वंस मच्चाउनेहरूले नै फेरि आफूहरूलाई बोलाएर राजनीतिक निकासका लागि परामर्श गरेको र त्यो अनौठो किसिमको रहेको अनुभूति पनि सुनाए ।
संयोजक दाहालले भने ‘अहिले हामी कहाँ चुक्यौ त ? २३, २४ भयो । हामी निरीह जस्तो के कारणले भयौँ ? अहिले हामी २३, २४ गते केही पनि नभएजस्तो नेताहरू तपाईँहरूले हेर्नुभयो भने छन् कि छैनन् जस्तो भयो नि । २४, २५ र २६ सम्म त हाम्रा नेताहरू जीवित पो छैनन् कि जस्तो, कहाँ छन् जस्तो गिरफ्तार भएका हुन् कि वा मारिएका पो हुन् कि जस्तो स्थिति थियो, सम्झिनुभएको छ ? मैले भन्ने गर्छु कहिले काहीँ बचियो कसरी ? हामीलाई हाम्रो नेता, कार्यकर्ताले हाम्रा नेता कहाँ छन् भनेर बचाएको होइन । बचाउन सक्ने स्थिति पनि थिएन । हाम्रा लडाकुहरू, युवाहरू गएर बचाएको पनि होइन । हामीलाई निरीह पनि विश्वभरिको भूराजनीतिक संघर्षले बनाएछ । हामी बच्न पनि भूराजनीतिको घर्षण भूराजनीतिका शक्ति केन्द्रहरूको एकता र संघर्षले गर्दा हामी बचिएछ । तपाईँहरूले यसलाई यसरी हेर्नुभएको छ कि छैन ? थाहा छैन । नत्र हामी त किचिक्क पारेर मिचिने ठाउँमा थियौ नि हामी त । प्रतिक्रियावादीले चाहेको भए त एकै छिनमा सिद्धिने ठाउँमा थियौ नि हामी त । तर हामी बचियो फेरि । २६ गते त फेरि तिनै २४ गते विध्वंस गर्नेहरूले नै मलाई र माधव नेपाललाई राष्ट्रपति कार्यालयमा बोलाएर लौ के गर्ने होला भन्ने ठाउँमा पुर्यायो २६ गते रातमा । यो पनि बडो अनौठो । हामीले त सोचेको पनि थिएनौ कि हामीलाई बोलाउलान् प्रधानसेनापतिले, राष्ट्रपतिले । हाम्रो सुझाव लिनेछन् भन्ने सोचेका पनि थिएनौँ, तर भयो ।’
संयोजक दाहालले आफूहरूले मुलुकमा ठूल्ठूला परिवर्तन गरेको जिकिर गर्दै आगामी दिनमा पनि गल्ती स्वीकार गर्दै अघि बढ्ने बताए ।








