सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछ: एमाले सांसद शेर्पा

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम ग्याल्जेन शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि रोयल्टी वृद्धि गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन बजेटका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त माग गरेका हुन् ।

सांसद शेर्पाले यथास्थितिमा सगरमाथाको आरोहणलाई कायम राख्ने हो भने आगामी २० वर्षमा सगरमाथाको अवस्था राम्रो नरहने चेतावनी समेत दिए ।

सगरमाथालाई हिराको रूपमा चित्रण गर्दै सांसद शेर्पाले सरकारले यसलाई कौडीको मूल्य बराबर पनि महत्त्व नदिएको भन्दै आपत्ति समेत जनाए ।

उनले भने ‘सगरमाथालाई हामीले सजिलो बनायौ । हिरालाई हामीले चाँदीको भाउमा विक्री गर्यौ । त्यसकारण अब सगरमाथालाई हामीले हिराको भाउमा नै विक्री गर्नुपर्दछ । र, सगरमाथाको भ्यालु राख्नुपर्दछ । त्यसकारण माननीयमन्त्रीज्यु यहाँ हुनुहुन्छ । सगरमाथाको रोयल्टीलाई यो भन्दा पनि बढाउनु पर्दछ । एउटा कुरा यो हो । अव हिमाल यस्तो अवस्थामा चढ्दै गयो, हिमाल चढ्ने भनेको पहाड चढ्ने वा हाईकिङ जाने जस्तो होइन के । त्यहाँको वातावरण कस्तो भइरहेको छ भन्नेकुरा हामीलाई थाहा छ । यस्तै अवस्थामा पर्यटन मन्त्रालय आफ्नो नीति, नियम ठिक ढंगले राख्न सकेन पनि २० वर्षमा यो सगरमाथा राम्रो कन्डिसनमा रहँदैन । र संसारमा हामीले बदनामी खेप्नुपर्ने अवस्था रहन्छ । यसप्रति पनि मैले मन्त्रालयको ध्यानाकर्षण गराएँ । हिमालको पर्यटनलाई सरकारको नीति तथा कार्यक्रमले पनि छोएन ।’

सांसद शेर्पाले सरकारले हिमालको पर्यटनलाई महत्त्व नदिएको गुनासो पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =