सबै उजुरीकर्तालाई समितिमा बोलाउन आवश्यक छैन: कविन्द्र बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाईका लागि प्रस्तावित व्यक्तिविरुद्ध उजुरी दिने सबैलाई समितिमा बोलाउन आवश्यक नरहेको बताएका छन् ।

बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा आगामी सुनुवाई सम्बन्धी कार्यका लागि आन्तरिक तयारीबारे भएको छलफलमा बोल्दै उनले उजुरीकर्तालाई बोलाउने वा नबोलाउने अधिकार समितिका सभापतिको क्षेत्राधिकारभित्र राख्नुपर्ने धारणा राखे ।

‘उजुरीकर्ता बोलाउने या नबोलाउने, कसलाई बोलाउने भन्ने क्षेत्राधिकार सभापतिकोमा राखौँ,’ उनले भने, ‘कुनै उजुरीकर्ता छुटेको छ र बोलाउन आवश्यक छ भन्ने लागेमा समितिका सदस्यले सभापतिलाई सुझाव दिने व्यवस्था गरौँ ।’

सबै उजुरीकर्तालाई बोलाउँदा समय व्यवस्थापन र सुनुवाईको गुणस्तर प्रभावित हुने भएकाले उजुरीको प्रकृति र आवश्यकताका आधारमा सीमित उजुरीकर्तालाई मात्रै बोलाउने अभ्यास गर्नुपर्ने उनको भनाइ थियो ।

‘२० वटा वा ५० वटा उजुरीकर्ता भए भन्दैमा सबैलाई बोलाउन आवश्यक छैन,’ उनले भने, ‘उजुरीकर्ता धेरै बनाइदिएपछि समितिले उजुरी नै राम्रोसँग हेर्न भ्याउँदैन । गडबड भएपछि स्वतः पास हुने अवस्था आउन सक्छ । त्यसलाई व्यवस्थित बनाउन यो प्रस्ताव राखेको हुँ ।’

बुर्लाकोटीले सुनुवाईका लागि प्रस्तावित पदाधिकारीको नाम समितिमा आउनेबित्तिकै सम्बन्धित सबै कागजात सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने सुझाव दिए । प्रस्तावित व्यक्तिविरुद्ध उजुरी परेमा सूचना जारी गर्ने निर्णयका लागि आवश्यक परे छिट्टै जुम बैठक बोलाउने व्यवस्था गर्नुपर्ने र प्रस्तावित व्यक्तिको कार्ययोजना वा भिजन पनि प्रारम्भिक चरणमै सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।

संसदीय सुनुवाई प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रभावकारी बनाउन कार्यविधिमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले सम्पूर्ण प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गर्न स्पष्ट कार्यप्रवाह (फ्लोचार्ट) तयार गर्न समितिको सचिवालय र सभापतिलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =