विधि विज्ञान प्रयोगशाला विधेयकः विज्ञको परिभाषा र योग्यता स्पष्ट हुनुपर्नेमा सभापति शेरचनको जोड

काठमाडाैं । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजश्वी शेरचनले ‘विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ मा विशेषज्ञको परिभाषा र न्युनतम योग्यता स्पष्ट रूपमा उल्लेख गरिनुपर्ने बताएकी छन् ।

बुधवार बसेको समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सभापति शेरचनले यस्तो बताएकी हुन् । विशेषज्ञले दिने रायका आधारमा अदालतको फैसला प्रभावित भई निर्दोष व्यक्ति दोषी ठहरिन सक्ने वा दोषीले उन्मुक्ति पाउन सक्ने जोखिम रहने हुँदा यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन् ।

उनले विशेषज्ञ हुनका लागि कम्तीमा स्नातकोत्तर (मास्टर्स) तह उत्तीर्ण गरेको र नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट निश्चित अवधिको तालिम प्राप्त गरेको हुनुपर्ने प्रश्ताव गरिन् ।

विधेयक नितान्त प्राविधिक प्रकृतिको भएको र यस विषयमा गहन राय सल्लाह आवश्यक देखिएकाले समितिको प्रत्येक बैठकमा विशेषज्ञका रूपमा डा. गोपाल चौधरीलाई आमन्त्रण गर्ने प्रश्ताव बैठकले अनुमोदन गरेको छ । डा. चौधरीलाई यस क्षेत्रको लामो अनुभवका आधारमा विज्ञको भुमिका निर्वाह गर्न आमन्त्रण गरिएको हो ।

उनले भनिन्, ‘विशेषज्ञको रायकै आधारमा सजाय हुने वा नहुने कुरा तय हुन सक्ने भएकाले यो शब्दलाई हलुका रूपमा लिनु हुँदैन । विज्ञको योग्यताका विषयमा थप छलफल आवश्यक रहेकाले यसलाई अहिल्यै नटुङ्ग्याई थप अध्ययनपछि मात्र पारित गर्नुपर्छ । ’

बैठकमा सभापति शेरचनले विधेयकको परिभाषा खण्डमा रहेका विषयहरूमा दफावार छलफलका क्रममा प्राप्त सुझावका आधारमा पुनः परिमार्जन गर्न सकिने जानकारी दिइन् । उनले सदस्यहरूले उठाएका विषयलाई सचिवालयले टिपोट गरिरहेको र दफावार छलफल सकिएपछि आवश्यकताअनुसार परिभाषामा पुनः फर्कने (रिभिजिट गर्ने) स्पष्ट पारिन् । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =