आँखा नदेख्नेहरूको देखिने पीडाः राज्यसँग न्यायको गुहार (भिडिओ)

'हामी आधा मरेका भए पनि संघर्ष रोकिन्न'

काठमाडौँ । आजभन्दा १३ वर्ष अगाडि भिरबाट ढुङ्गा खस्दा टाउकोमा लागेको चोटले सुर्खेत, लेकबेसी नगरपालिका वडा नं. १० का स्थानीय वीरबहादुर कार्कीको आँखाको ज्योति गुम्यो ।

पहिले रातको अँध्यारो मात्र चिन्न छाडेका उनले अहिले दिउँसोको उज्यालो पनि देख्दैनन् । अहिले उनी सेतो लाठी बोकेर सुर्खेतका गाउँहरू हुँदै काठमाडौँको माइतीघर मण्डलाको सडकपेटीमा आइपुगेका छन् ।

वीरबहादुरका चार सन्तान र श्रीमती छन्, जसको जीविकोपार्जन उनले सडकमा गीत गाएर र धूप बेचेर गर्दै आएका थिए । तर, महानगर र प्रहरीको धरपकडका कारण अचेल उनले सडकमा गीत गाउन पनि पाउँदैनन् ।

‘आफूले आँखा नदेखेपछि राज्यले पनि गर्न लागेको काम गर्न नदिने, अनि बाटोघाटोमा गीत सङ्गीत गर्दा पनि हामीलाई धरपकड हुने, लाठी खोसिने, धेरै धेरै कामहरू भयो । अनि हामीलाई पनि गाँस, बास, कपास होस् भनेर हामी यहाँ धर्ना गर्न आएको हो माइतीघर’ उनले भावुक हुँदै भने ।

जीवन निर्वाह भत्ताको माग  

माइतीघरमा दृश्टिबिहिनहरूको आन्दोलनको आज आठौँ दिन हो । स्थानीय प्रशासन र महानगरपालिकाले सडक तथा मठमन्दिरमा गीत गाएर जीविकोपार्जन गर्न प्रतिबन्ध लगाएको र धरपकड गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

सडकको पेटीमा धुलो मैलो खाँदै गीत गाउन र प्रहरीको लाठी खाने आफूहरूलाई कुनै रहर नभएको उनले बताए । उनले प्रहरीले दृष्टिविहीन महिलाहरूको लुगा च्यातिदिने, उनीहरूलाई लाठी चार्ज र हातपात गरेको भन्दै गुनासो पोखे । ‘हामीलाई रोडमा त्यस्तै भयो, मठमन्दिरमा पनि यस्तै, अनि दाजुभाइ दिदीबहिनी (तपाईँहरू जस्तै देख्ने मान्छे) ले दिएको सहयोग लिन नदिने, धरपकड गर्ने, महिला दिदीबहिनीहरूको सुरुवाल च्यातियो, हरेक कुरा गर्यो । यो धेरै भयो अनि हाम्रो आफ्नै संयोजक हुनुहुन्छ, सुदिप ओली । अनि हामी सबै एकजुट भएर आन्दोलनमा आएका हौँ ’ उनले भने ।

वीरबहादुरले राज्यले ३ महिनामा दिएको २१०० रुपैयाँ भत्ताले चिया खान पनि नपुग्दै भन्दै जीवन निर्वाह हुने भत्ता दिन सरकारसँग माग गरेका छन् ।

‘हामीलाई २१०० भत्ता छ, २१०० ले हामीलाई के नै हुन्छ र ? चिया खान पनि पुग्दैन । जीवन निर्वाह हुने भत्ता भइदिएको भए हामी आज सडकको पेटीमा गीत गाउन, बस्न, अनि धुलो मैलो खान, कसैको हातपात, पुलिसको हातको लाठी खान रहर थिएन’ उनले भने ।

उनले सरकारले धेरै ज्यादती र धरपकड गरेकाले बाध्य भएर आफूहरू माइतीघरमा आन्दोलन गर्न आउनुपरेको जानकारी दिए ।

‘हामीलाई व्यवस्थापन होइन, धरपकड गरियो’

उनले दुई तिहाइको बालेन सरकारले चुनाव अघि सबैलाई व्यवस्थापन गर्ने प्रतिबद्धता गरे पनि उल्टै आफूहरूलाई पक्राउ गर्दै धरपकड गरेको गुनासो व्यक्त गरे । उनले अहिलेको युवा सरकारले आफूहरूलाई उचित व्यवस्थापन गर्न नसकेको भन्दै चित्त दुखाए ।

‘हाम्रो नदेख्ने मान्छेको भोट उनलाई चाहिने, आज उनीलाई जिताएर उनीले हाम्रो पेटमा लात हान्ने काम गरिरहेको छ है । अब के गर्ने ? गाह्रो छ । जता बलियो छ, त्यतै मान्छेको हुन्छ । अहिले हामी दुःखी गरिब, हाम्रो महिला दिदीबहिनीहरूलाई हरेक कुरा यस्तो समस्या सबैलाई आइराछ । धेरै दुःख छ हाम्रो’ उनले भावुक हुँदै भने ।

दृष्टिविहीनहरूको नजरमा कस्तो हुनुपर्छ ‘नेपाल’ ?

‘मलाई त यस्तो लाग्छ, दुःखी, गरिब, एकल महिला दिदीबहिनी, दृष्टिविहीन सबैलाई एकदम राम्रो व्यवस्था हुनुपर्छ । तर अहिले त्यस्तो छैन ।’ आन्दोलनरत दृष्टिविहीन वीरबहादुर कार्कीले भने ।

‘हामी आधा मरेका भए पनि आन्दोलन रोकिन्न’

उनले आफूहरूको माग पूरा नभएसम्म मर्नु परे पनि माइतीघर मण्डलामा नै मर्ने दृढता व्यक्त गरे । आजसम्म आन्दोलन शान्तिपूर्ण भएको भन्दै माग पूरा नभए भोलिदेखि आफूहरूको आन्दोलन फरक ढंगले बढ्ने उनले सरकारलाई चेतावनी दिए ।

उनले आधा मरेको जिन्दगीलाई मर्न डर नभएको भन्दै सरकारले गोली हाने पनि आन्दोलन अनि निरन्तर अगाडि बढ्ने बताए ।

‘आजसम्म हामीले शान्तिपूर्ण गरिराखेका छौँ, भोलि त हामीलाई गर्नै पर्ने बाध्यता हुन्छ, के गर्ने ? हामी आधा मरेको जिन्दगी मर्नलाई पनि केही फरक छैन, चाहे सरकारले गोली हाने पनि यो आन्दोलन निरन्तर भइरहनेछ। हाम्रा मागहरू जबसम्म पूरा हुन्न, तबसम्म हामी यो आन्दोलन छाड्दैनौँ’ उनले भने ।

उनले माइतीघरमा खानाको समस्या भएपनि युद्ध कालमा माओवादीले नुनको ढिक्का खाएर सत्ता ल्याएको हो भन्दै आफूहरूले पनि केही न केही गर्ने गरेर आन्दोलनलाई जारी राख्ने बताए ।

‘हाम्रो आन्दोलनलाई कसैकमो साथ छैन’

त्यस्तै उदयपुरका अर्का दृष्टिविहीन सिता राउतले भने दृष्टिविहीनहरूको आन्दोलनलाई सञ्चार माध्यम र जनताले नै साथ नदिएको गुनासो गरिन् । उनले सरकारलाई आफूहरूले गर्न सक्नेखालका रोजगारको उपलब्धता गराइदिन आग्रह गर्दै आफूहरूको आन्दोलन केबल ‘गाँस’ का लागि मात्र भएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =