वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छः सभापति खड्का

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले वित्तीय अनुशासन सुदृढ बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।

महालेखा परीक्षक कार्यालयको ६८औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै सभापति खड्काले लामो समयदेखि बेरुजु फस्र्यौट र सम्परीक्षण हुन नसक्दा सरकारप्रतिको जनविश्वास कमजोर हुँदै गएको उल्लेख गरे ।

उनका अनुसार विक्रम संवत २०६० सालयताको अद्यावधिक बेरुजु हाल ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जसले वित्तीय अनुशासनमा गम्भीर चुनौती देखाएको छ ।

सभापति खड्काले महालेखा परीक्षकको कार्यालय र सार्वजनिक लेखा समितिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै समितिले महालेखाको वार्षिक प्रतिवेदनमाथि छलफल गरी अन्तिम निर्णय तथा निर्देशन दिने जिम्मेवारी निर्वाह गर्ने बताए ।

उनले आर्थिक गतिविधिको चक्रअनुसार योजना तर्जुमा, बजेट स्वीकृति, कार्यान्वयन, लेखापरीक्षण र त्यसपछि लेखा समितिमा छलफल गरी बेरुजु फस्र्यौट हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा ढिलाइ भइरहेको बताए । ‘विगतका वार्षिक प्रतिवेदनहरू लेखा समितिमा छलफल हुन बाँकी छन् । छलफलमा ढिलाइ हुँदा विषयको सान्दर्भिकता हराउने र एउटै काममा समय तथा श्रम दोहोरिने अवस्था देखिएको छ,’ उनले भने ।

सभापति खड्काले समितिले आगामी दिनमा कार्यतालिका बनाएर छलफललाई नियमित र व्यवस्थित गर्ने तयारी गरेको जानकारी दिए । साथै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार सम्बन्धित निकायहरूले सोही आर्थिक वर्षभित्र बेरुजु फस्र्यौट गर्नुपर्नेमा जोड दिए ।

उनले लेखापरीक्षण प्रणालीलाई समयसापेक्ष बनाउन अंक र कागजातमा मात्र सीमित नभई नतिजा र उपलब्धिमुखी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

समस्यामात्र औँल्याउने होइन, समाधानमुखी र कार्यान्वयनयोग्य प्रतिवेदन आवश्यक रहेको उनको भनाइ थियो ।

सभापति खड्काले लेखापरीक्षण ऐन, २०७५ अनुसार महालेखा परीक्षकले जुनसुकै समयमा पनि प्रतिवेदन पेश गर्न सक्ने व्यवस्था रहेको स्मरण गराउँदै राष्ट्रिय महत्वका विषयमा तत्काल लेखापरीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सुझाव दिए ।

त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थामा सार्वजनिक लेखा समिति प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =