लेखा परीक्षण सुधारका लागि वित्तीय र संगठनात्मक स्वायत्तता आवश्यक: राया

काठमाडौं । महालेखा परीक्षक तोयम रायाले लेखा परीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा संगठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएका छन् ।

महालेखा परीक्षक कार्यालयको ६८औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले लेखा परीक्षणलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन सूचना प्रविधिको प्रयोग हुँदै आए पनि त्यसलाई अझ परिष्कृत गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले सूचना प्रविधिमा आधारित प्रणाली सुदृढ बनाउन थप स्रोतसाधन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सरकारको सहयोग अपेक्षित रहेको धारणा राखे ।

‘लेखा परीक्षणको गुणस्तर र प्रभावकारिता अभिवृद्धिका लागि वित्तीय तथा संगठनात्मक स्वायत्तताको आवश्यकता छ,’ उनले भने, ‘यसका लागि संघीय संसद र नेपाल सरकारबाट सहयोग प्राप्त भइरहेको छ, आगामी दिनमा पनि निरन्तरता हुने विश्वास लिएको छु ।’

महालेखा परीक्षक रायाले कार्यालयप्रति जनअपेक्षा बढ्दै गएको उल्लेख गर्दै गुणस्तरीय लेखा परीक्षणमार्फत जनविश्वास कायम राख्ने र संस्थाको साख अभिवृद्धि गर्ने गरी कार्य व्यवस्थापन गरिएको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षदेखि लागू हुने गरी रणनीतिक योजना २०८२/८३–२०८६/८७ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

उनले लेखा परीक्षणको क्रममा स्थलगत अनुगमनलाई विस्तार गर्ने योजना रहेको जानकारी दिँदै आगामी वर्ष प्रत्येक प्रदेशका तीन जिल्ला समेटिने गरी २१ जिल्लामा अनुगमन गरिने बताए । साथै सरोकारवालाबाट गुनासो र सुझाव संकलन गर्ने व्यवस्था पनि गरिने उनले उल्लेख गरे ।

सार्वजनिक क्षेत्रको लेखा परीक्षणलाई थप पारदर्शी र प्रभावकारी बनाउन विभिन्न चरणमा सरोकारवालासँग छलफल गर्ने योजना रहेको पनि उनले बताए ।

उनका अनुसार महालेखाले आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ५ सय २६ निकाय तथा कार्यालयको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरेको छ ।

सोही अवधिमा वित्तीय लेखा परीक्षणतर्फ ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु देखिएको उनले जानकारी दिए । साथै हालसम्म ६३ अर्ब १२ करोड ९५ लाख रुपैयाँ सम्परीक्षण भएको र लेखा परीक्षण तथा सम्परीक्षणबाट १४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ असुल गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =