सीमा रक्षा र जनसुरक्षा राज्यको पहिलो कर्तव्य: भीम रावल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले राज्य आफ्नो मूल कर्तव्यबाट च्युत भए सरकारको औचित्य समाप्त हुने टिप्पणी गरे ।

उनले सरकारी जग्गा अतिक्रमण गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्नेमा आफू सहमत भए पनि वास्तविक भूमिहीन, श्रमजीवी र विपन्न नागरिकको संरक्षण गर्नु राज्यको पहिलो दायित्व हुने स्पष्ट पारे ।

‘सरकारी जग्गा मिचेर खान पाउनुपर्छ भन्ने पक्षमा म छैन । त्यस्तालाई कारबाही गर्नैपर्छ,’ उनले भने, ‘तर वास्तविक पीडित, श्रमजीवी र विपन्न नागरिकको संरक्षण राज्यको पहिलो दायित्व हो । सीमा रक्षा र जनताको सुरक्षा गर्नु राज्यको पहिलो कर्तव्य हो । जुन दिन राज्य यो कर्तव्यबाट च्युत हुन्छ, त्यही दिन सरकारको औचित्य समाप्त हुन्छ ।’

नेता रावलले संविधान निर्माणका क्रममा ठूलो मेहनत र खर्च भएको उल्लेख गर्दै संविधानमा समावेश परराष्ट्र नीतिका प्रावधानहरू व्यवहारमा पालना हुन नसकेको आरोप लगाए ।

उनका अनुसार संविधानले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त र राष्ट्रिय हितका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने तथा असमान सन्धि नगर्ने व्यवस्था गरेको भए पनि व्यवहारमा त्यसको उल्लङ्घन भएको छ ।

माथिल्लो कर्णाली र महाकाली जलविद्युत् परियोजनाका सन्दर्भमा असमान सन्धि भएको उनको दाबी थियो । उनले यस्ता विषयले राष्ट्रिय हितमा प्रश्न उठाएको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =