कारबाही सिफारिस गर्दा आयोगले कार्यक्षेत्र मिच्यो: रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले गत वर्षको २३ र २४ भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाएकी छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी हुन्। अब मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा बहस गर्नुपर्ने उनको भनाइ छ ।
उनले जेनजी आन्दोलनको क्रममा भएको विध्वंसको छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने बताइन् । उनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरी सुनियोजितरुपमा देश जलाउने कार्यमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताइन् ।
उनले भनिन्– ‘मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा अब बहस हुनुपर्यो । र भदौ २३ र २४ गतेको घटनामा सरकारले एउटा छानबिन आयोग बनाओस् । उक्त आयोग सर्वोच्च अदालतका वहालवाला न्यायाधीशको अध्यक्षतामा बनोस् । र भदौ २३ र २४ गतेको घटना सुनियोजित हिसाबले पूर्व तयारी गरेर कसले यो आन्दोलन चलाउनको लागि निर्देशन दियो, निर्णय ग¥यो र फिल्डमा गएर देश जलाउने काम ग¥या ? यी देश जलाउनेहरू, देश द्रोहीहरुलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ । र नेपालको स्वाभिमान माथि उठाउनुपर्छ । हामी चुप लाग्नु हुँदैन् । अब गरिबहरु पनि उठ्नुपर्छ । किनभने यो सरकार मध्यम वर्ग र विदेशी दलालहरुको मात्र कुरा गरिरहेको छ ।’
उनले सरकार मध्यम वर्ग र विदेशी दलालहरुको मात्र कुरा गरिरहेको आरोप लगाउँदै न्यून आय भएका र गरिबको रेखामुनि भएको समुदाय सरकारविरुद्ध खरो रुपमा उभिनुपर्ने समेत बताइन् ।










