फलानोको फोन आयो भन्दै उम्मेदवारी फिर्ता लिने राजनीति गर्दिनँ: मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी अन्तिमसम्म कायम रहने बताएका छन् ।
शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू नै सबैभन्दा पहिले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने नेता भएको उल्लेख गर्दै कुनै पनि दबाब वा फोनका आधारमा उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारे ।
‘यो महाधिवेशनमा सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेको मैले हो । त्यसमा मेरो उम्मेदवारी यथावत् छ,’ उनले भने, ‘यस्तो आलोकाँचो राजनीति पनि गर्न भएन, हिजो बेलुकी उम्मेदवारी दिने, अहिले फिर्ता लिने ।’
महामन्त्री पदमा सुरुवाती चरणमा १० जनाले उम्मेदवारी दिएका थिए । तर कबिन्द्र बुर्लाकोटी, राजु पाण्डे, गणेश पराजुली, जगदीश खरेल, रञ्जु दर्शना र प्रमोद न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
उम्मेदवारी फिर्ता लिने नेताहरूप्रति संकेत गर्दै झाले परिणाम जेसुकै आए पनि आफू अन्तिमसम्म प्रतिस्पर्धामा रहने बताए । ‘फलानोको फोन आएपछि सोचौंला र सोधौंला भन्ने राजनीति हुँदैन,’ उनले भने, ‘म सशक्त रूपमा लागेको छु र अघि बढेको छु । महामन्त्रीमा मनिष झा, धन्यवाद ।’
रास्वपाको महामन्त्री पदमा मनिष झा, विपिनकुमार आचार्य, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।










