प्रतिनिधिको मतबाट टुंगो लागोस्, बन्द कोठाबाट होइन: गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले प्रतिनिधिहरूलाई स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्न दिनुपर्ने बताएका छन् ।

महामन्त्री पदका आकांक्षीहरूले उम्मेदवारी फिर्ता लिँदै विभिन्न उम्मेदवारलाई समर्थन गर्ने क्रम चलिरहेका बेला कार्कीले सर्वसम्मतिको नाममा प्रतिनिधिमाथि प्रभाव पार्ने प्रयास उचित नहुने धारणा राखेका हुन् ।

उनले लोकतन्त्रको मर्म प्रतिनिधिको स्वतन्त्र निर्णयमा रहेको उल्लेख गर्दै भने, ‘प्रतिनिधिको मतबाट टुंगो लाग्नुपर्छ, कोठाबाट होइन ।’

उनका अनुसार प्रतिनिधिहरूले आफ्नै विवेक प्रयोग गरेर नेतृत्व चयन गर्न पाउनुपर्छ । उम्मेदवारले आफ्नो दाबेदारी प्रस्तुत गर्ने हो, अन्तिम निर्णय भने प्रतिनिधिकै मतबाट हुनुपर्ने उनको भनाइ छ । ‘मत हाल्नकै लागि प्रतिनिधिहरू बसिरहनुभएको छ । उहाँहरूले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ,’ कार्कीले भने ।

महामन्त्री पदका आकांक्षी कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, रन्जु दर्शना र गणेश पराजुलीलगायतले उम्मेदवारी फिर्ता लिइसकेका छन् । अब महामन्त्री पदका लागि गणेश कार्कीसहित मनिष झा, सागर ढकाल र विपिनकुमार आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =