काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने

काठमाडाैं । नेपाल र जापानबीचको सम्बन्ध र ७० वर्षको सहकार्यलाई लक्षित गर्दै काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने भएको छ ।

एमजे इन्टरटेनमेण्ट र एमएन प्रोडक्शनको संयुक्त आयोजनामा आगामी कात्तिक १४ गते लैनचौरस्थित एक होटलमा यो महोत्सव हुन लागेको हो ।

एमजे इन्टरटेनमेण्ट एण्ड एमएन प्रोडक्शनका प्रतिनिधि जित लामाकाअनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको मुख्य उद्देश्य सांस्कृतिक आदानप्रदानका साथै परोपकारी कार्यमा सहयोग पुर्याउनु रहेको छ ।

टिकट विक्रीबाट प्राप्त हुने कुल रकमको ५० प्रतिशत हिस्सा सामाजिक संस्था जाइकाले गरिरहेका विभिन्न कल्याणकारी कार्य र अनाथ बालबालिकाहरूको सहयोगका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा सहभागी हुन चाहने दर्शकका लागि टिकट दर १ हजार रुपैयाँ निर्धारण गरिएको छ । जसमा भीआईपी र जनरल सबैका लागि समान शुल्क रहनेछ । डिजिटल भुक्तानी पार्टनरका रूपमा ‘खल्ती’ एपमार्फत टिकट खरिद गर्न सकिनेछ ।

सांगीतिक आकर्षणका लागि जापानबाट ताके कोकुयो, रियो, सन र सुमो रेसलरहरूको विशेष प्रश्तुति रहनेछ । त्यस्तै, नेपालका तर्फबाट कुसुम सागर एण्ड द कोपा, पूर्ण राई एण्ड दाजुभाइ, बेख र एवाइजी (र्यापर) लगायतका कलाकारहरूले आ–आफ्नो प्रश्तुति दिनेछन् ।

खाद्य महोत्सवअन्तर्गत जापानको होक्काइदो ग्रुपले जापानी परिकारहरूको स्टल राख्नेछ भने नेपालको तर्फबाट नेवारी, राई, गुरुङ र तामाङ समुदायका मौलिक स्वादका छुट्टाछुट्टै स्टलहरू रहनेछन् ।

महोत्सवको अर्को विशेष आकर्षण ‘हलोविन पार्टी’ रहनेछ । सोही दिन अन्तर्राष्ट्रिय हलोविन पर्व समेत परेकाले जापान र नेपालका विभिन्न सांस्कृतिक तथा आधुनिक कस्ट्युमहरूको प्रदर्शन (कस्पले) गरिने आयोजकले जानकारी दिएको छ ।

३ हजार ५०० क्षमताको कार्यक्रम स्थलमा ५ हजारभन्दा बढी दर्शकको आवागमन हुने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =