मलेसियाको आन्तरिक पर्यटनमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा ७ करोड ४७ लाख पर्यटक

एजेन्सी । सन् २०२६ को पहिलो त्रैमासमा मलेसियाको आन्तरिक पर्यटनले आफ्नो वृद्धिको गतिलाई कायम राखेको छ ।
सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार आन्तरिक पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा ७.२ प्रतिशतले वृद्धि भई ७ करोड ४७ लाख पुगेको छ ।
मलेसियाको तथ्याङ्क विभागले एक विज्ञप्ति जारी गर्दै चिनियाँ नयाँ वर्ष र ईद–अल–फित्र जस्ता मुख्य चाडपर्वका कारण पर्यटन क्षेत्रमा सुधार आएको जनाएको छ ।
चाडपर्वको समयमा पारिवारिक भेटघाट, बिदा र मनोरञ्जनका लागि हुने यात्राले देशभर पर्यटकीय गतिविधि बढाउन महत्वपूर्ण भुमिका खेलेको विभागको भनाइ छ ।
तथ्याङ्कअनुसार सन् २०२५ को चौथो त्रैमासको तुलनामा आन्तरिक पर्यटकको संख्या ०.९ प्रतिशतले बढेको छ, जसले यात्राको मागमा निरन्तर स्थिरता रहेको देखाउँछ । पर्यटकको संख्यासँगै खर्च गर्ने दरमा पनि वृद्धि देखिएको छ ।
यस अवधिमा आन्तरिक पर्यटन खर्च वार्षिक रूपमा १५.८ प्रतिशतले बढेर ३४ अर्ब रिंगिट (करिव ८ अर्ब २१ करोड अमेरिकी डलर) पुगेको छ । यसले प्रतिपर्यटक औसत खर्च र समग्र पर्यटकीय गतिविधिमा बढोत्तरी भएको संकेत गर्दछ ।
त्यसैगरी, त्रैमासिक आधारमा पर्यटन खर्च ४.५ प्रतिशतले वृद्धि भएको छ, जसले पर्यटनसँग सम्बन्धित आर्थिक गतिविधिहरू सुदृढ बन्दै गएको पुष्टि गर्छ ।
पर्यटकको बढ्दो संख्या र खर्चका कारण मलेसियाको अर्थतन्त्रमा आन्तरिक पर्यटन क्षेत्र एक प्रमुख संवाहकका रूपमा कायम रहेको विभागले उल्लेख गरेको छ ।










