अफ्रिकामा साइबर चुनौतीको सामना गर्न सहकार्यको आह्वान

एजेन्सी । संयुक्त राष्ट्र संघ र इथियोपियाका विज्ञहरूले अफ्रिकामा निरन्तर बढ्दै गएको साइबर सुरक्षा चुनौतीहरूको सामना गर्न कृत्रिम बुद्धिमत्ता (एआई) का सरोकारवालाहरूबीच थप गहिरो सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

इथियोपियाको राजधानी अदिस अबाबामा बुधवार आयोजित साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अफ्रिकाका लागि संयुक्त राष्ट्र संघीय आर्थिक आयोग (ईसीए) की उप–कार्यकारी सचिव मामा केइटाले अफ्रिकी महादेशमा साइबर खतरा पहिचान र विशाल डाटाबेसको विश्लेषणका लागि सुदृढ एवं नवीन एआई समाधानहरू भित्र्याउन आवश्यक रहेको बताए ।

साइबर अपराधीहरूले स्वचालित आक्रमण गर्न र गलत सूचना प्रवाह गर्न एआईको दुरुपयोग गरिरहेकोतर्फ सचेत गराउँदै उनले सुरक्षित डिजिटल अफ्रिका सुनिश्चित गर्न अफ्रिकी सरकार, नीति निर्माता, अन्वेषक, उद्योगका नेतृत्वकर्ता र विकास साझेदारहरूबीच साझा कदम चाल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा इथियोपियाको सूचना नेटवर्क सुरक्षा प्रशासनकी महानिर्देशक टिगिस्ट हमिदले डिजिटल रूपान्तरण र एआईले असाधारण अवसरहरू सिर्जना गरे पनि यसका चुनौतीहरू उत्तिकै जटिल र सीमाविहीन रहेको बताए ।

हमिदकाअनुसार इथियोपियाले विगत दुई दशकमा सुरक्षित र लचिलो डिजिटल प्रणाली निर्माणका लागि उल्लेखनीय प्रगति गरेको छ । यस अन्तर्गत सुरक्षा अपरेसन केन्द्रहरू, साइबर घटना प्रतिक्रिया प्रणाली र निरन्तर निगरानी ढाँचाहरू सहितको व्यवस्थित साइबर रक्षा संयन्त्र स्थापना गरिएको छ ।

इथियोपियाली साइबर सुरक्षा संघ र ईसीएद्वारा आयोजित दुई दिने यस सम्मेलनले साइबर सुरक्षा सुदृढ गर्न, डिजिटल विश्वास अभिवृद्धि गर्न र अफ्रिकाको दिगो विकास एवं समृद्धिका लागि प्रविधिको रूपान्तरणकारी शक्तिको उपयोग गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =