समीक्षा बास्कोटाले फिर्ता लिइन् रास्वपा उपसभापति पदको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ समीक्षा बास्कोटाले उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएकी छन् ।
भरतपुरमा जारी रास्वपाको महाधिवेशनमा उनले दर्ता गराएको उपसभापति पदको मनोनयन फिर्ता लिएकी हुन् ।
बास्कोटाले उपसभापति पदकी उम्मेदवार तथा कानूनमन्त्री सोविता गौतमसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिएकी छन् ।
उम्मेदवारी फिर्ताको निर्णयबारे उनले संस्थाको एकता र संगठनलाई प्राथमिकतामा राखेको उल्लेख गरेकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘कहिलेकाहीँ संस्थालाई अझ एकताबद्ध बनाउन र सहि लयमा अघि बढाउन केवल दाबी गर्नु मात्र होइन, आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुन्छ । यही विश्वासका साथ मैले उपसभापति पदमा उम्मेदवारी दिने आफ्नो निर्णय फिर्ता लिएको छु।’










