काठमाडौँमा महिलाहरूका लागि सवारी चालक तालिम सुरु

काठमाडौँ । महिलाहरूका लागि सवारी चालक तालिम सुरु गरिएको छ ।
पर्यटकहरूको सवारी चालक चलाउने दक्षता अभिवृद्धि हुनेगरी उनीहरूलाई बिहीबारबाट काठमाडौँको बुढानीलकण्ठमा उक्त तालिम दिन सुरु गरिएको हो ।
पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउनका लागि महिलालाई पनि पर्यटकीय सवारी चालक बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक केवी शाहले बताए । उनले नेपालको पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा दिनका लागि महिलाहरूको योगदान महत्त्वपूर्ण हुनेमा आफूहरू आशावादी रहेको पनि बताए ।
परियोजना संयोजक शाहले भने ‘यहाँ महिलाहरूलाई सवारी चालक तालिम दिनका लागि कार्यक्रम उद्घाटन गरेका छौ । यसमा ३८ जना महिलाहरू देशको विभिन्न भागबाट सहभागी हुन आउनुभएको छ । उहाँहरूलाई भोलीको दिनमा पर्यटकीय गाडीहरू चलाउने जब ग्यारेन्टीसहित यो तालिम सञ्चालन गर्दैछौँ । यो दिगो पर्यटन परियोजनाको मुख्य उद्देश्य भनेको पर्यटकीय गतिविधिहरूको विस्तार गर्ने, नयाँ ठाउँहरूमा ट्रेकिङ रुटहरूको विस्तार गर्ने ३ वटा ठाउँहरू हामीले विस्तार गरेका छौँ । पश्चिममा अपि, साईपाल, मध्यमा मनास्लु एरिया र पूर्वमा कञ्चनजंगा एरिया । यहाँ पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने तालिम दिने काम त हामीले गरिरहेका छौँ । त्यसको अलवा पर्यटन क्षेत्रमा चाहिने सर्भिस सेक्टर जस्तै होटल, रेष्टरेन्ट, ड्राईभिङ । यी सेक्टरहरूमा दक्ष जनशक्ति तयार गर्ने । त्यसमा पनि महिलाहरूलाई कसरी सहभागी गराउन सकिन्छ रु भन्ने हिसाबले हामीले महिलाहरूका लागि रोजगारीको तालिम सञ्चालन गरेका हौँ । उहाँहरूले लाइसेन्स प्राप्त गरिसकेपछि पर्यटकीय वाहनहरू चलाउनु हुनेछ । र, पर्यटकहरूलाई गुणस्तरीय सेवा दिनुहुनेछ भन्ने आशा राखेका छौ ।’
यसैबीच तालिममा सहभागी प्रशिक्षार्थीहरूले सवारी चालक तालिममा सहभागी हुन पाएको खुसी व्यक्त गरेका छन् । भक्तपुरबाट सहभागी हुनुभएकी जुनु शाहले उक्त तालिमले आफूहरूलाई दक्ष बनाउने विश्वास व्यक्त गर्दै आयोजक संस्थाहरू प्रति आभार व्यक्त गरे ।
उनले भने ‘चालक र सहचालक क्षेत्रमा चाहना र रुचि भएको व्यक्ति हुँ म । र मैले धेरै पटक लाइसेन्स लिनका लागि प्रयास पनि गरेको हो । त्यसमा असफल भए म । यस पटक म आफूलाई दक्ष बनाउँछु भनेर आएको छु । तालिममा सहभागी हुनु अवसर दिने भएकोमा धन्यवाद दिन चाहन्छु ।’
परियोजनाले नेपाल पर्यटक यातायात व्यवसाय संघसँगको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो । ३० दिनसम्म चल्ने तालिममा देशका विभिन्न भागमा ३८ जना महिलाहरू सहभागी भएका छन् । पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउनका लागि महिलाहरूको दक्षता अभिवृद्धि गर्न उक्त तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको पनि दिगो पर्यटन परियोजनाले जनाएको छ ।










