रास्वपाको प्रस्तावप्रति बाबुरामको चेतावनी: ‘प्रदेशसभा खारेज गर्ने निर्णय ठूलो भूल हुनेछ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनमार्फत प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले संघीयता कमजोर बनाउने निर्णय गरेको हो भने त्यो ‘ठूलो भूल’ हुने बताएका छन् ।
सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै भट्टराईले एकातिर सरकारको तर्फबाट संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने र अर्कोतिर कुनै दलले आफ्नो एकल निर्णय अरूमाथि थोपर्ने प्रयास गरे त्यसले दलहरू, विभिन्न जातीय समूह र आम जनसमुदायबीच विश्वासको संकट निम्त्याउन सक्ने बताएका छन् ।
उनले नेपालको जस्तो जातीय, राष्ट्रिय तथा क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो संघर्ष र बलिदानपछि निर्वाचित संविधानसभामार्फत स्थापित संघीय संरचनालाई कमजोर बनाउने प्रयासले गम्भीर जातीय–क्षेत्रीय द्वन्द्व र अशान्ति निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
भट्टराईले संघीय पुनर्संरचनालाई जानेर वा नजानेर भत्काउने कदम कसैको हितमा नहुने उल्लेख गर्दै संविधान संशोधनका विषयमा अधिकतम राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
‘नदुखेको कपाल डोरी लगाएर दुखाउनु सट्टा संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चूपचाप सुशासन र विकासतिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ,’ उनले लेखेका छन् ।










