प्रधानमन्त्रीपत्नीको स्पष्टोक्तिः सुरक्षाकर्मीले मेरो ब्याग बोकेका होइनन्, त्यो उनकै हो

काठमाडौं । प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भनी सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी भई चितवनबाट काठमाडौं फर्किने क्रममा खिचिएको तस्बिरलाई लिएर सञ्चार माध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि उनले स्पष्टीकरण दिएकी हुन्।

बुधबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले तस्बिरमा सुरक्षाकर्मीले बोकेको झोला उनैको भएको बताइन्। सामाजिक सञ्जालमा उक्त झोला काफ्लेको भनी आलोचना भएको थियो। उनले समाचार लेख्नुअघि घटनाको सत्यता बुझ्न सञ्चार माध्यमहरूलाई आग्रह समेत गरेकी छन्।

रास्वपाको महाधिवेशन बीचमै छोडेर प्रधानमन्त्री शाह, पत्नी काफ्ले र छोरी बुद्ध एअरको उडानबाट बुधबार काठमाडौँ फर्किएका थिए। सोही क्रममा विमानस्थलमा खिचिएको तस्बिरमा प्रधानमन्त्री शाहले छोरी बोकेका छन् भने श्रीमती काफ्लेको हातमा मोबाइल देखिन्छ।

‘जुन सुरक्षाकर्मीले ब्याग बोक्नुभएको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो,’ उनले लेखेकी छन्, ‘तर यहाँ अनेक शंका र अनेक अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ। उनले महिलाको चरित्र हत्या गरेर चर्चामा आउने नियोजित मिडियाबाट यस किसिमको समाचार फैलाइएको आरोप समेत लगाएकी छन्।

साथै उनले नयाँ नेतृत्व र उनीहरूका परिवारलाई पुरानै प्रवृत्तिसँग दाँजेर हेर्ने दृष्टिकोण गलत रहेको बताउँदै मिडियालाई जिम्मेवार बन्न आग्रह गरेकी छन् । देशको चौथो खम्बा मानिने सञ्चार माध्यमले तथ्य जाँच नगरी समाचार सम्प्रेषण गरेकोमा उनले दुःख व्यक्त गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =