चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा गरेको फोहर सरसफाइ गरिएको छ ।
रास्वपाका उम्मेदवारहरूले अन्य नेता कार्यकर्ताको सहकार्यमा सरसफाइ गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, अर्का उम्मेदवार एवं प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र अर्का उम्मेदवार प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालसहितका उम्मेदवार एवं प्रतिनिधिले सरसफाइ गरेका हुन् ।
रास्वपाको बन्दसत्र गरिएको उद्योग सङ्घको गेट बाहिरको फोहर तीन जना उम्मेदवारसहितका रास्वपा नेता कार्यकर्ताले सरसफाइ गरेका हुन् ।
सो क्षेत्रमा छरिएका उम्मेदवारका ‘भिजिटिङ कार्ड’, पर्चा पम्प्लेट, पानीका बोटलगायत फोहर उनीहरूले सफा गरेका हुन् । खनालले राजनीतिक फोहर मात्रै होइन हामीले गरेका अन्य फोहर पनि सफा गर्नुपर्ने भन्दै सरसफाइमा जुटेको बताए ।
उनले भने, ‘हामीलाई भोट हालेका जनताले हामीले फोहर गरेको देख्न चाहँदैनन् । चितवन महाधिवेशनमा अत्यधिक फोहर देखेर हामीले सफा गरेका हौँ ।’ हरेक नेपालीको घरघरसम्म रास्वपाले फोहर गर्दैन भन्ने सन्देश प्रवाहका लागि उम्मेदवार अशिम साह, सुदीप ढकालसहित आफूहरूले सरसफाइ गरेको बताए । उनले भने, ‘हामी फोहर गर्ने होइन सफा गर्ने मान्छे हो ।’









