पुन:निर्माण हुँदै भक्तपुरको ऐतिहासिक सिद्ध पोखरी (तस्बिरहरू)

भक्तपुर । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सिद्ध पोखरी (तः पुखुः) यतिबेला पुनर्निर्माण तथा मर्मत सम्भारको क्रममा छ ।
उपत्यकाकै प्राचीन शहर भक्तपुरको पूर्वी प्रवेशद्वार नजिकै रहेको यो पोखरी भक्तपुरको इतिहास, संस्कृति र आस्थाको जीवित प्रतीक हो ।
नेपाल भाषामा ‘तः पुखुः’ अर्थात् ‘ठूलो पोखरी’ भनेर चिनिने यो पोखरी भक्तपुरको सबैभन्दा परिचित सम्पदामध्ये एक हो ।
तत्कालीन मल्ल राजा यक्ष मल्लको शासनकालमा यो पोखरीको विस्तार र व्यवस्थित निर्माण भएको विश्वास गरिन्छ । शताब्दीयौँदेखि यसले नगरको जल व्यवस्थापन, धार्मिक परम्परा, सामाजिक जीवन र पर्यटनलाई एकैसाथ जोड्दै आएको छ ।
अनेकौँ किंवदन्ती र धार्मिक महत्त्व जोडिएका यो पोखरीलाई भक्तपुर नगरपालिकाले जेठ २० गतेदेखि उपभोक्ता समितिमार्फत पुन:निर्माण सुरु गरेको छ ।
यस कार्य अन्तर्गत भूकम्पबाट क्षति पुगेका पोखरी वरपरका पेटी तथा पदमार्ग पुनर्निर्माण भइरहेको छ भने पोखरीको पिँधमा जमेको हिलो सफा गर्ने काम पनि जारी छ।
निर्माणका लागि पोखरीको पानी सुकाइएकाले यहाँका माछा अन्यत्र सारिएका छन् ।
नगरपालिकाले आगामी भदौको दोस्रो साताभित्र अर्थात इन्द्रजात्राअघि नै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
हेर्नुहोस् तस्बिरहरू:










