जसलाई देखेर कलाकार बने, उनै ‘मदनकृष्ण’ बन्दै महेश (भिडिओ)

कथा र टोली बारे जानकारी पाएपछि त्रिपाठीले तत्कालै फिल्मका लागि ‘ओके’ भने ।

काठमाडौँ । एक साँझ कलाकार महेश त्रिपाठीको फोनमा निर्देशक मिलन चाम्सको कल आयो । चाम्सले फोनमै आफ्नो नयाँ फिल्मको कथावस्तु र टिमबारे विस्तारमा सुनाए । कथा र टोली बारे जानकारी पाएपछि त्रिपाठीले तत्कालै फिल्मका लागि ‘ओके’ भने ।

त्यो फिल्म अरू कुनै नभई नेपाली कला–सांस्कृतिक क्षेत्रका ‘लिभिङ लिजेन्ड’ मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म ‘मदनकृष्ण’ थियो।

हिजो सोमबार एक कार्यक्रमका बीच निर्माण टिमले फिल्म घोषणा सँगै मुख्य कलाकारहरू सार्वजनिक गर्यो । उक्त फिल्ममा नेपाली चलचित्र क्षेत्रका सशक्त कलाकार महेश त्रिपाठीले मुख्य भूमिका निभाउने छन् ।

त्रिपाठी ‘मदनकृष्ण’ को भूमिकालाई लिएर नर्भस देखिन्छन् । ‘‘मदनकृष्ण’ को भूमिका बाँधिन पाउँदा कस्तो लागेको छ ?’ भन्ने मकालुखबरको प्रश्नमा उनी एकछिन नर्भस देखिएर र केही सेकेन्ड होल्ड भएपछि जवाफ दिए ।

‘आफूले पहिलोचोटि टेलिभिजनको स्क्रिनमा जसलाई देख्यो जसलाई देखेर कलाकार बन्ने चाहना बाल मस्तिष्कमा पलायो, उही व्यक्तिको बायोपिकमा उही व्यक्तिको चरित्र निभाउन पाउनु भनेको एउटा कलाकारको लागि ठुलो सौभाग्यको कुरा हो ।’ उनले भने ‘म धेरै खुसी छु, एक्साइटेड छु, यो मेरो लागि अहोभाग्य त हुँदै हो ठुलो चुनौती पनि हो ।’

उनले मदनकृष्णलाई देखेर नै आफूले कलाकारिता सुरु गरेको बताए । उनले सोही व्यक्तिको बायोपिकमा उनकै चरित्र निभाउन पाउनु कलाकारको लागि सौभाग्य भएको बताए ।

यस प्रोजेक्टलाई सौभाग्यसँगै ठुलो चुनौतीको रूपमा लिएको उनले बताए ।

साथै ‘मदनकृष्ण’ चरित्रलाई जीवन्त बनाउन सय प्रतिशत मेहनत र परिश्रम गर्ने सङ्कल्प गरे ।

‘मेरो तर्फबाट यस प्रतिशत मेहनत गर्ने प्रयास गर्छु । त्यो चरित्रलाई जीवन्त बनाउने प्रयास कुनै एङ्गलबाट पनि चुकाउँदिन । म सय प्रतिशत इफोर्ट, परिश्रम सब कुरा लगाउने प्रयास गर्छु ।’ उनले भने ।

सुरुवाती अवस्थामा डर लागेपनि मेहनत, परिश्रम र निर्देशकको गाइडेन्समा आफ्नो काम राम्रो हुनेमा आफू आशावादी रहेको उनले बताए ।

‘कलाकार भइसकेपछि कलाकारितामा आत्मविश्वास त हुन्छ नै । सुरुवाती अवस्थामा डर लाग्छ नै तर मेहनत, परिश्रम र निर्देशकको गाइडेन्समा मेरो काम राम्रो हुन्छ भन्ने कुरामा एकदमै आशावादी छु ।’ उनले भने ।

कलाकार त्रिपाठीले जवान ‘मदनकृष्ण’ को भूमिकामा फिट हुन तौल समेत घटाएको निर्माण टिमले जानकारी दिएको छ ।

भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =