साहित्य सन्ध्यामा ‘अल्गोरिदम र डार्क पिआर’ बारे परिचर्चा

काठमाडौँ । साहित्य सन्ध्याको ४७७ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘वर्तमान समयमा अल्गोरिदम (समस्या समाधान गर्ने चरणबद्ध नियमहरूको योजना)को असर र डार्क पिआर (छद्म सार्वजनिक सम्बन्ध)ले मानवमस्तिष्कमा पार्ने प्रभाव’ विषयमा परिचर्चासहित कविगोष्ठीको आयोजना गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा युवा कवि प्रशान्त खरेलले अल्गोरिदमका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको बताए ।
उनका अनुसार खोजिएका कुरा तत्काल उपलब्ध हुनु, स्वास्थ्य तथा विज्ञानका क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सहयोग पुग्नु, मौसम पूर्वानुमान र नयाँ औषधि पहिचानमा सहयोग पुग्नु अल्गोरिदमका सकारात्मक पक्ष हुन् ।
डिजिटल लत बढ्ने, भ्रम र गलत भाष्य निर्माण हुने तथा गलत सूचना फैलिने जस्ता जोखिम पनि उत्तिकै रहने उनले बताए ।
“भाइरल हुनका लागि सत्यभन्दा बढी गलत सूचना प्रवाह गर्ने, आवेग सिर्जना गर्ने, निर्वाचनमा बाह्य हस्तक्षेप हुने, व्यक्तिका सूचना सङ्कलन गरी बिक्री गर्ने, एकाधिकारतर्फ जाने प्रवृत्ति देखिन्छ,” खरेलले भने ।
उनले सामाजिक सञ्जालमा नेपालमा सर्भर नहुने वा दर्ता तथा नियमन नहुने अवस्थासम्म यस्ता समस्या कायम रहने धारणा राखे ।
उनले श्रमिक अधिकारमा असर, गम्भीर विषयलाई सतही बनाउने प्रवृत्ति, “हामी विरुद्ध उनीहरू” भन्ने मनोवृत्ति विकास हुने तथा घृणा र भावनात्मक उत्तेजना हावी हुने अवस्था देखिएको उल्लेख गरे ।
तथ्याङ्कको संरक्षण, स्थानीय तहसम्म प्रविधि शिक्षा विस्तार तथा पारदर्शितामार्फत अल्गोरिदमसम्बन्धी सचेतना आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा स्रष्टाहरू ओमप्रसाद कोइराला, डम्बर पहाडी, ललिता दोषी, सुशीला प्रधानाङ्ग, गोपाल बराल, डा. मनोज जोशी, प्रिन्स प्रमोद, केदारनाथ आचार्य, नवराज श्रेष्ठ, डा. गोविन्दप्रसाद आचार्य, नारायण निरासी, कुमार नेपाल, राधिका भण्डारी सापकोटा, प्रभाती किरण, जयन्ती स्पन्दन, लक्ष्मण तिमल्सिना, अमरदीप सुनुवार, डा. कृष्ण सुवेदी, दील पौडेल, नन्दु उप्रेती, राजाराम राउत, रूपक अलङ्कार, वासुदेव अधिकारी र गोपालकुमार मैनालीले रचना वाचन गरे ।
प्रस्तुत रचनामाथि समीक्षा गर्दै समालोचक ज्ञानु विद्रोहीले देशभक्ति र जागरणमुखी कविताहरू वाचन भएको बताए । साहित्य सन्ध्याका अध्यक्ष राम विनयले साहित्यका माध्यमबाट सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्ध आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =