रास्वपामा वरिष्ठ नेता पदमा चुनाव नहुने, बालेनको निरन्तरता सुनिश्चित

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधनमार्फत वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा निर्वाचन नहुने भएको छ । पार्टीको पहिलो महाधिवेशनमा उक्त पदका लागि चुनाव नगरिने निर्णय गरिएको हो ।

फागुन २१ गते सम्पन्न आमनिर्वाचनअघि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहलाई पार्टीमा समाहित गर्ने उद्देश्यले ‘वरिष्ठ नेता’ पद सिर्जना गरिएको थियो । त्यसबेला पार्टीको विधानमा उक्त पदको व्यवस्था नभए पनि पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधनमार्फत यो पद थपिएको थियो । संशोधित विधानलाई महाधिवेशनले औपचारिक रूपमा पारित गर्न भने बाँकी छ ।

पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार वरिष्ठ नेता पदमा चुनाव नहुने भएकाले हालका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले केन्द्रीय सदस्यका लागि समेत प्रतिस्पर्धा गर्नुपर्ने छैन ।

चितवनको भरतपुरमा आइतबारदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनमा वरिष्ठ नेता बाहेक केन्द्रीय समितिका सदस्य र पदाधिकारी पदका लागि निर्वाचन हुने देखिएको छ। उद्घाटन सत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

रास्वपाको विधानअनुसार निर्वाचन दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा सभापति र केन्द्रीय समितिका सदस्यहरूको चुनाव हुनेछ । सभापति पदका निकटतम प्रतिद्वन्द्वीले १० प्रतिशतभन्दा बढी मत प्राप्त गरे स्वतः केन्द्रीय सदस्य बन्ने व्यवस्था गरिएको छ ।

दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिनेछ। विधान संशोधनपछि रास्वपाको केन्द्रीय समितिको आकार १५८ सदस्यीय र पदाधिकारी संख्या १९ पुगेको छ ।

पदाधिकारीमध्ये वरिष्ठ नेता मात्र यस्तो पद हो, जसका लागि निर्वाचन नहुने व्यवस्था गरिएको छ । पार्टी स्रोतका अनुसार प्रधानमन्त्री बालेन शाहलाई पार्टी नेतृत्व तहमा स्थान सुनिश्चित गर्न यस्तो प्रावधान राखिएको हो ।

२०७९ असार ७ गते स्थापना भएको रास्वपाले चार वर्षपछि पहिलो पटक महाधिवेशन आयोजना गर्न लागेको हो । स्थापनाको चार महिनामै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २१ सिट जितेको रास्वपाले पछिल्लो निर्वाचनमा झण्डै दुई तिहाइ बहुमतसहित सरकार गठन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 7 =