रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा

चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन् ।
आज अपराह्नदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन शाह केहीबेरअघि चितवन आइपुगेका हुन् ।
पार्टीका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन सत्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ ।
चितवनको भरतपुरमा आयोजना हुन लागेको महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहने पार्टीले जनाएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक दिशा तथा संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।
रास्वपाको स्थापना भएको चार वर्षपछि पहिलो पटक आयोजना हुन लागेको यो महाधिवेशनलाई पार्टीले ऐतिहासिक कार्यक्रमका रूपमा लिएको छ ।









