श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैँ गरिबी झेल्नु पर्‍योः हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैँ गरिबी झेल्नुपरेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले श्रम शक्तिबाट मुलुकको सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सकिने भएकाले श्रमलाई अभियानको रूपमा अघि बढाउन आवश्यक रहेको पनि बताए ।

अध्यक्ष राईले श्रमलाई माया गरेर अघि बढ्न पनि सबैलाई आह्वान गरे । श्रमले मात्रै मुलुकमा आयआर्जन बढाउने हुनाले त्यसलाई हेयको दृष्टिले हेर्न नहुने उनको भनाई थियो ।

अध्यक्ष राईले भने ‘मेरो जहिले पनि एक खालको वैचारिक आन्दोलन विद्रोह भनौँ वा असन्तुष्टि के रहन्छ भने हामीले श्रम र श्रमिक, श्रम भन्ने विषयसँग हामी यति टाढा गयौँ कि शिक्षाले नै हामीलाई त्यस्तो बनायो । काम गर्ने मानिस भनेपछि हामी घिनाउँछौँ । पसिना बगाउनेभनेपछि हामी अल्छी मान्छौँ । काम र काम गर्ने मान्छेलाई वर्षौवर्षदेखि विभेद गरेको छ हाम्रो समाजले । काम गर्ने मानिसलाई कामी भनेर घर भित्र हुल्न नदिने समाज अझै चेन्ज भएको छैन । त्यसो भएको हुनाले आज म सम्मानित सदनबाट एउटा सन्देश पनि दिन चाहन्छु–कामलाई माया गरौँ । श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ । हामी कसलाई कति टयाक्स लगाउने, एक रुपैयाँ कहाँबाट उठाउने, २ रुपैयाँ कहाँबाट उठाउने भन्ने रन्कोमा छौँ । तर हामीले हाम्रो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि श्रमको अभियान, श्रम गर्नु पर्दछ भन्ने शिक्षा, श्रमप्रतिको एउटा सकारात्मक धारणा हामीले कहिल्यै पनि धारन गरेनौ । फलत हामी सधैभरी गरिब छौँ ।’

अध्यक्ष राईले आफूले श्रम गर्नेमाथि विभेद गर्नु हुन्न भनेर अभियानलाई सञ्चालन गरेको दाबी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =