यातायात व्यवस्थापनमा प्रविधि र सहकार्य अपरिहार्यः एआईजी कार्की

काठमाडाैं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले यातायात क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि प्रविधिको प्रयोग र सबै सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यकारिणी समितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी कार्कीले यस्तो बताएका हुन् ।
उनले यातायात व्यवस्थापन कुनै एक निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने स्पष्ट पारे । यातायात क्षेत्रको विकास र व्यवस्थापनका लागि सबै सरोकारवाला पक्षहरूको सहकार्य जरुरी रहेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरेमा मात्र यसले पूर्णता पाउनेछ जिकिर गरे ।
एआईजी कार्कीले पछिल्लो समय यातायात क्षेत्रलाई पुरातन शैलीबाट मुक्त गरी प्रविधिमैत्री बनाउन महासंघको निःवर्तमान तथा वर्तमान नेतृत्वसँग समन्वय भइरहेको जानकारी दिए । यस सहकार्यले सकारात्मक परिणाम दिन थालेको उल्लेख गरे ।
सवारी साधनको सुरक्षा र निगरानीका लागि प्रविधिको प्रयोगमा उल्लेख्य उपलब्धि हासिल भएको उनको भनाइ छ ।
हालसम्म दुई हजारभन्दा बढी सवारी साधनमा जीपीएस र ड्यास बोर्ड सीसी क्यामेरा जडान भइसकेको जानकारी दिँदै उनले अब सवारी धनीले आफ्नो सवारी साधन कहाँ र कुन अवस्थामा छ भन्ने विवरण मोबाइलबाटै प्रत्यक्ष हेर्नसक्ने वातावरण सिर्जना भएको बताए । यो प्रविधिलाई देशभरका सबै सवारी साधनमा विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
एआईजी कार्कीले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन म्यानुअल टिकटिङको सट्टा अनलाइन टिकट प्रणालीमा जानुपर्ने र ट्राफिक व्यवस्थापनलाई प्रविधिमा आधारित बनाउनुपर्ने आवश्यकता औँल्याए ।
हालको परम्परागत ट्राफिक व्यवस्थापन प्रणालीलाई आधुनिक बनाउन ‘इन्टिग्रेटेड ट्राफिक म्यानेजमेन्ट सिस्टम’ लागू गर्न सरकारलाई सुझाव दिइएको र यसका लागि विभिन्न सेमिनार तथा गोष्ठीहरूमार्फत ध्यानाकर्षण गराइएको उनले उल्लेख गरे । –न्युज एजेन्सी नेपाल









