स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउनका लागि उक्त तयारी भइरहेको भन्दै उनले त्यसका लागि आवश्यक सुझाव दिन सांसदहरूसहित सम्बन्धित सबै पक्षसँग आग्रह पनि गरिन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने पनि बताइन् । उनले सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साबिकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी भइरहेको पनि बताइन् ।

मन्त्री मेहताले भनिन् ‘स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने । सबै संगठित क्षेत्रहरूमा अनिवार्य स्वास्थ्य बीमा गर्ने । सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साबिकको स्वास्थ्य विमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ । यसका लागि सबै माननीयज्युहरुको ध्यानाकर्षण र सहयोगको अपेक्षा राखेको छु । सरकारको नीति तथा कार्यक्रम, बजेटअनुसार मन्त्रालयले वार्षिक कार्यक्रमहरू तय गरेको छ । विगत भन्दा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ऐतिहासिक र समृद्धि ल्याउने खालको रहेको छ ।’

मन्त्री मेहताले सरकारले विगत भन्दा बढी प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेको दाबी समेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =