सगरमाथा आरोही ट्रान्स महिलाको आग्रह- राज्यले नेपाल लैङ्गिकमैत्री रहेको सन्देश दिओस्

काठमाडौँ । सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेलले हिमाल आरोहणका लागि आवश्यक प्रायोजन (स्पोन्सरशिप) प्राप्त गर्न आफूले ठुलो संघर्ष गर्नुपरेको भन्दै गुनासो गरेकी छन् ।
बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सगरमाथा आरोहण गर्नको लागि सरकारी निकायसहित साझेदार संस्थाहरूबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेकी हुन् ।
उनले ले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायप्रति समाजमा अझै पनि विभेदपूर्ण दृष्टिकोण रहेको उल्लेख गर्दै आफू ट्रान्स समुदायको भएकै कारण सहयोग पाउन नसकेको बताइन् । उनले विभिन्न कार्यक्रम तथा फेसन शोहरू आफ्नै लगानीमा सञ्चालन गर्दै आएको भएपनि सगरमाथा आरोहण जस्तो अन्तर्राष्ट्रिय महत्वको अभियानका लागि भने सहयोग प्राप्त हुने अपेक्षा गरेपनि त्यस्तो हुन नसकेको बताइन् ।
उनले विभिन्न पालिका तथा वडा कार्यालयहरूले छलफलका लागि बोलाएको भएपनि आफू यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको भएको थाहा पाएपछि पछि हट्ने गरेको बताए । उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरू पर्यटन क्षेत्रमा टुरिस्ट गाइडका रूपमा सक्रिय रहेको र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याइरहेको पनि बताए ।
राज्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको योगदानको सम्मान गर्दै नेपाललाई एलजीबीटीआई–मैत्री राष्ट्रको रूपमा नागरिकसमक्ष सन्देश प्रवाह गर्नुपर्ने बताइन् ।
उनले भनिन् ‘हिमाल आरोहणको लागि स्पोन्सर गरिरहेका ब्राण्ड र कम्पनीहरूले मेरो प्रस्तावलाई सिधै अस्वीकार गरिदिनुभयो । हामी ट्रान्सहरुलाई सधैँ नराम्रो नजरले किन हेर्ने रु हामी पनि राम्रो काम गर्न सक्छौँ तपाईँहरू साथ दिनुस् न । मैले आफैँले आफ्नै पैसामा धेरै इभेन्टहरू गरेर आएको छु । मलाई कसैले पनि साथ दिएको छैन । मैले आफ्नै पैसा लगानी गरेर फेसन सोको आयोजना समेत गर्ने गरेको छु । त्यहाँ सहयोग मिलेन । सगरमाथा आरोहण गर्न जाँदा त सहयोग मिल्छ भन्ने आस थियो त्यो पनि भएन । अहिले हाम्रो कम्युनिटीको धेरै जना टुरिष्ट गाइड हुनुहुन्छ । हामीले नेपालको पर्यटन प्रवर्द्धनको लागि समेत सहयोग गरिरहेका छौँ । यौनिक तथा लैङ्गिक अलपसंख्यक समुदायले गरिरहेको योगदानलाई कदर गर्दै राज्यले नेपाल देश एलजिपिटीआई फ्रेण्ड्ली छ र हामी पनि सबै काम गर्न सक्छौँ भनेर भनिदिनुभयो भने राम्रो हुन्छ ।’
व्यावसायिक मेकअप कलाकार निलम पौडेलले मध्य जेठमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी कीर्तिमान कायम गरेकी थिइन् । उनले यो सफलता सीमान्तकृत समुदायको ठुलो जित भएको बताइन् ।









