एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐन महरको माग

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै महरले बजेट अभावका कारण महिला खेलाडीहरू उक्त प्रतिष्ठित प्रतियोगिताबाट वञ्चित हुन लागेको समाचारप्रति चिन्ता व्यक्त गरे । उनले खेलाडीहरूको भिसा प्रक्रियाका लागि राहदानीसमेत सङ्कलन गरिसकिएको अवस्थामा बजेटलाई बहाना बनाएर सहभागिता रोक्नु खेलाडी र समग्र खेलकुद क्षेत्रप्रति अन्याय हुने बताए ।
सम्बोधनका क्रममा महरले प्रधानमन्त्रीको सामाजिक सञ्जाल फेसबुकको कभर फोटोमा महिला राष्ट्रिय फुटबल टोलीको सामूहिक तस्बिर रहेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा पनि प्रतिबिम्बित गर्न आग्रह गरे । प्रधानमन्त्रीले देखाएको सम्मान र विश्वास बजेट विनियोजनमार्फत प्रमाणित हुनुपर्नेमा उनले जोड दिए ।
‘प्रधानमन्त्रीज्यूको फेसबुक कभरमा महिला खेलाडीहरूको फोटो देखिनु सकारात्मक भए पनि त्यो केवल प्रचारका लागि मात्र नभई उनीहरूको खेल जीवनको विकास र सम्मानका लागि हुनुपर्छ,’ उनले भने ।
यसैबीच, महरले फुटबल प्रतियोगिताको टेलिभिजन प्रसारणमा लिइने अतिरिक्त शुल्कको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २३औँ विश्वकप फुटबलका खेलहरू हेर्न नेपाली दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्थालाई उनले ‘लुट’ को संज्ञा दिए ।
उनले आम नेपाली फुटबलप्रेमीहरूले राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क रूपमा विश्वकपका खेल हेर्न पाउने वातावरण निर्माण गर्न सरकारसँग माग गरे ।









