प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने काम नभएसम्म संसदमा विरोध जारी रहन्छ: एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति नसच्चिएसम्म आफूहरूको विरोध प्रदर्शन जारी रहने बताएकी छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अडान राखेकी हुन् ।

सांसद हमालले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराइन् । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्ष दलहरूको पनि विगतका काण्डहरूको फाइल खोल्छु भनी धम्क्याउने गरेको भन्दै आपत्ति जनाइन् । अर्थमन्त्री वाग्लेलाई सांसद हमालले विपक्ष दलहरूलाई विगतको फाइल खोलेर कारबाही गर्न पनि चुनौती दिइन् ।

उनले भनिन् ‘प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा आएर जवाफ दिनुपर्दछ । अनि उहाँको यो अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्दछ । अनि मात्रै हाम्रो आन्दोलन रोकिने छ । नत्रभने हाम्रो आन्दोलन जारी रहनेछ । र, माननीय अर्थमन्त्रीज्यूले आफ्नो जवाफ दिने क्रममा प्रतिपक्ष दलहरूलाई थर्काउने, धम्क्याउने गरिराख्नु भएको छ । हामी के भन्छौँ भने सरकार हाम्रो पनि हो । प्रतिपक्षको पनि हो । यसकारण सरकार मात्रै सत्तापक्षको हो भन्ने सोचाई हो भने यो सच्याइनु पर्दछ । यसकारण म के भन्न चाहन्छु भने माननीय अर्थमन्त्रीज्यूको जुन अभिव्यक्ति दिनुभएको छ । त्यो अभिव्यक्तिप्रति हाम्रो आपत्ति छ ।’

सांसद हमालले सरकारले विपक्ष दलहरूलाई धम्क्याउने काम गर्नु उचित नभएको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =