प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा संसदमा मतदान गर्नुपर्ने अवस्था आयोः काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे गोप्य मतदान गराएर संसदले निक्र्यौल गर्नुपर्ने माग गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै यादवले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय सीमा जस्तो संवेदनशील विषयमा विवाद सिर्जना गरेको भन्दै त्यसबारे प्रधानमन्त्री स्वयंले सदनमा आएर जवाफ दिनुपर्ने बताइन् ।
उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको जवाफ परराष्ट्रमन्त्रीले दिन नमिल्ने जिकिर गरिन् । ‘प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिको ठोस जवाफ कहिले आउँछ ? म सम्माननीय सभामुखमार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु,’ उनले भनिन्, ‘विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्रमन्त्रीजीले जवाफ दिनुभयो । त्यो सबैलाई थाहा छ, त्यो ढाकछोप गर्ने मात्रै हो ।’
यादवले नियमावलीअनुसार प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताइन् । उनले प्रधानमन्त्रीले के सोचेर त्यस्तो अभिव्यक्ति दिएको हो भन्ने विषयमा सदनलाई जानकारी गराउनुपर्ने धारणा राखिन् ।
‘कहीँ पनि नियमावलीमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिको जवाफ कुनै मन्त्रीले दिने व्यवस्था छैन । मन्त्रीले आफ्नो विषयगत क्षेत्रको मात्रै जवाफ दिने हो,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति मिडिया ट्रायलका लागि हो भने पनि उहाँले सदनमा आएर त्यसको जवाफ दिनुपर्छ । होइन भने सीमा जस्तो संवेदनशील विषयमा बोलिदिएर हिँड्न मिल्दैन ।’
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सीमाक्षेत्रमा विभिन्न गतिविधि बढेको दाबी गर्दै यादवले त्यसको जिम्मेवारी कसले लिने भनी सरकारसँग प्रश्न गरिन् ।
‘उक्त अभिव्यक्तिपश्चात देशमा जुन गतिविधि भइरहेको छ, सीमामा जुन क्रियाकलाप भइरहेको छ, त्यसको जिम्मेवारी कसले लिने ?’ उनले भनिन्, ‘सुस्तामा हाम्रा नागरिकले भारतीय सीमा सुरक्षा बललाई धपाउनुपर्ने अवस्था आएको छ । त्यसको जवाफ कसले दिन्छ ?’
यादवले प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गराएर निष्कर्षमा पुग्नुपर्ने प्रस्तावसमेत राखिन् ।
‘संसदमा यसको बारेमा गोप्य मतदान गरी निक्र्यौल गरौं सभामुख महोदय,’ उनले भनिन् ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ हुने गरी परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिएको आरोप पनि लगाइन् । प्रधानमन्त्री स्वयंले सदनमा स्पष्ट जवाफ नदिएसम्म आफ्नो विरोध कायम रहने उनले बताइन् ।









