काठमाडौँ महानगरद्वारा आ.व २०८३/८४ को नीति तथा कार्यक्रम पारित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८/८४ को नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ ।
सोमवार बसेको नगर सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरेको हो ।
नगरसभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिका सदस्यहरूबाट प्राप्त राय, सुझाव र सल्लाहलाई आधार बनाएर नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्न प्रस्ताव पेस गरेकी थिइन् ।
उनले कार्यपालिका सदस्यहरूबाट प्राप्त सुझावले बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक निर्माणमा सहयोग पुग्ने बताइन् । काठमाडौँ महानगरपालिकाले सुशासनयुक्त, छिटो, छरितो, जनमुखी तथा सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सदस्यहरूबाट आएका नवीन तथा सिर्जनात्मक सुझाव कार्यान्वयन गर्ने जानकारी दिइन् ।
केही सुझाव महानगरपालिकाले बनाएका ऐन तथा कानुन संशोधनसँग सम्बन्धित रहेको भन्दै उहाँले आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता पनि जनाइन् ।
उनले भनिन् ‘यहाँहरूले राख्नुभएको राय, सल्लाह, सुझावलाई आधारित बनाएर नीति तथा कार्यक्रम, बजेट बनाउनेछौँ । हामीले बनाउने आर्थिक विधेयक र विनियोजन विधेयकमा पनि यहाँहरूले राख्नुभएको राय सुझावले योगदान पुर्याउने छ, काठमाडौँ महानगरबासीले साँच्चिकै महानगरपालिकाले गरिरहेको कामको आवास गर्न सक्नुहुनेछ । हामीले नै बनाएका ऐन कानुनहरूमा संशोधन गर्नु आवश्यक भएका केही सुझावहरू पनि आएका छन् । त्यसका लागि आवश्यक कारबाही अगाडि बढाउनेछौँ । साथै काठमाडौँ महानगरपालिकालाई हामीले सुशासनयुक्त र सँगसँगै हामीले प्रवाह गर्ने सेवाहरू छिटो, छरितो, जनतामुखी र सँगसँगै सरल र सहज पनि होस् भन्ने हामी सबैको उद्देश्य हो । यसका लागि यहाँहरूले दिनुभएको नवीन र सँगसँगै सृजनात्मक सुझावहरू पक्कै पनि उपयोगी छन्, नीति कार्यक्रम बजेट र सँगसँगै हामीले बनाउने ऐन कानुनहरूमा पनि यसले उल्लेखनीय योगदान पुर्याउने छ । यसतर्फ हाम्रो ध्यानाकृष्ट भएको पनि छ र यसलाई क्रमशः रूपमा कार्यान्वयन गर्दै लग्नेछौँ ।’
महानगरको नीति तथा कार्यक्रम स्वीकृत भएसँगै आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट, आर्थिक विधेयक, २०८३ र विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्न नगर सभाको अर्को बैठक असार ४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा बस्ने भएको छ । महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यवाहक प्रमुख डंगोलले नगरसभामा बिहीबार प्रस्तुत गरेकी थिइन् ।









