कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः हरि ढकाल

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले लोक सेवा आयोगको भूमिकालाई केवल परीक्षा सञ्चालन र सिफारिसमा मात्र सीमित राख्न नहुने बताएका छन् ।
लोक सेवा आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सुशासन, विधिको शासन र सार्वजनिक प्रशासनको व्यावसायिकता सुदृढीकरणमा आयोगको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए ।
सभापति ढकालले बदलिँदो र गतिशील परिवेशमा कर्मचारी छनोटका लागि केवल योग्यता र निष्पक्षता मात्र पर्याप्त नहुने भन्दै नैतिकता र इमानदारिताबिनाको योग्यताले जोखिम निम्त्याउन सक्ने चेतावनी दिए ।
उनले भने, ‘अब लोक सेवा आयोगको जिम्मेवारीलाई केवल परीक्षा सञ्चालन र सिफारिसमा मात्रै सीमित राखेर हेर्नु हुँदैन । सुशासन, विधिको शासन, सार्वजनिक प्रशासनको व्यावसायिकता तथा लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणमा आयोगको योगदान उत्तिकै अपेक्षित छ ।’
सभापति ढकालले उच्च तहमा मात्र होइन, खरिदार, नायब सुब्बा र अधिकृत तहमै सुशासन, सदाचारिता, नैतिकता र निष्ठासम्बन्धी विषय समावेश गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार परीक्षार्थीहरूको ज्ञान मात्र होइन, व्यवहारिक आचरणसमेत परीक्षण गर्न सक्ने प्रणाली विकास गर्न सके मात्र आयोगको ऐतिहासिक साख जोगाउन सकिन्छ ।
‘नैतिकताको परीक्षण केवल उत्तरपुस्तिकामा सीमित नभई व्यवहारमै परीक्षण गर्न सक्ने क्षमता विकास गर्नुपर्छ,’ उनले भने ।
सङ्घीय शासन प्रणाली लागू भएपछि आयोगको भूमिका अझ गहिरिएको उल्लेख गर्दै उनले प्रदेश लोक सेवा आयोगसँग समन्वय र सहजीकरण आवश्यक रहेको बताए ।
उनले संघ, प्रदेश र स्थानीय तहका लागि दक्ष र परिणाममुखी जनशक्ति उत्पादन गर्न परीक्षा प्रणालीको आधुनिकीकरण, सूचना प्रविधिको उच्च प्रयोग र पारदर्शिता अपरिहार्य भएको पनि स्पष्ट पारे ।









