यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र संकटमा छः सासद बुढा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले यार्सागुम्बाको उत्पादनमा आएको तीव्र गिरावटका कारण हिमाली क्षेत्रको अर्थतन्त्र गम्भीर संकटमा परेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यार्सागुम्बा उत्पादन करिब ६० प्रतिशतले घटेको जानकारी दिँदै सरकारलाई तत्काल संरक्षण, राहत र दीर्घकालीन व्यवस्थापनका कदम चाल्न आग्रह गरे ।

सांसद बुढाका अनुसार डोल्पासहित १२ हिमाली जिल्लाका हजारौं परिवारको वार्षिक आम्दानी यार्सागुम्बामा निर्भर छ । तर जलवायु परिवर्तन, अव्यवस्थित संकलन लगायतका कारण उत्पादन निरन्तर घट्दै गएको उनले बताए ।

‘कर्णालीको आर्थिक मेरुदण्ड यार्सागुम्बा आज गम्भीर संकटमा छ,’ उनले भने, ‘डोल्पा सहित १२ हिमाली जिल्लाका हजारौं परिवारको वार्षिक आम्दानी यार्सामाथि निर्भर छ, तर यस वर्ष उत्पादन ६० प्रतिशतभन्दा बढीले घटेको अनुमान छ ।’

उनले यार्सागुम्बा घट्नु केवल जडीबुटी उत्पादनको समस्या नभई सम्पूर्ण हिमाली अर्थतन्त्र प्रभावित हुने विषय भएको उल्लेख गरे । उत्पादन घटेसँगै बजार सुनसान बनेको, आम्दानी गुमेको र धेरै घरमा खाद्य संकटको जोखिम बढेको उनको भनाइ थियो ।

सांसद बुढाले वर्षौंदेखि यार्सागुम्बाबाट राज्यले ठूलो राजस्व संकलन गरे पनि संकटमा परेका संकलक र हिमाली समुदायका पक्षमा प्रभावकारी पहल नभएको आरोप लगाए ।

उनले सरकारसँग तीनबुँदे माग प्रस्तुत गर्दै यार्सागुम्बा संरक्षण, संकलकको सुरक्षा तथा उद्धार बीमा, ब्रान्डिङ र दिगो बजार व्यवस्थापनका लागि वैज्ञानिक नीति ल्याउन आग्रह गरे ।

त्यसैगरी प्रभावित परिवारको अवस्था मूल्यांकन गरी राहत उपलब्ध गराउन तथा डोल्पामै यार्सागुम्बा र अन्य जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी रोजगारी र पर्यटनसँग जोडिएको विशेष कार्यक्रम सञ्चालन गर्न पनि उनले माग गरे ।

सांसद बुढाले हिमाली जनताको आवाजप्रति सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =