सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति

काठमाडौं । नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले मुलुकको सीमा सुरक्षा, शान्ति सुरक्षाको अवस्था तथा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै काउचाले सीमा क्षेत्रमा नेपाली नागरिकले असुरक्षित महसुस गरिरहँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाइन् ।

उनले प्रधानमन्त्रीले केही समयअघि दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्तिप्रति संकेत गर्दै उक्त भनाइपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को घुसपैठ बढेको दाबी गरिन् । प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिका कारण भारतीय सुरक्षाकर्मीहरू बारम्बार सुस्ता क्षेत्रमा प्रवेश गर्ने गरेको र स्थानीय बासिन्दाले नै उनीहरूलाई प्रतिकार गर्नुपरेको अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

‘गत जेठ १७ र २९ गते सुस्तामा एसएसबी प्रवेश गर्दा स्थानीयले प्रतिकार गरे, तर आफ्ना नागरिकलाई ढाडस दिनुपर्ने सरकार यस विषयमा किन मौन छ ?’ उनले प्रश्न गरिन् ।

सांसद काउचाले सरकारको पारदर्शितामाथि पनि गम्भीर प्रश्न उठाइन् । गत भदौ २३ र २४ गते भएको आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले बुझाएको प्रतिवेदन सरकारले हालसम्म सार्वजनिक नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।

वर्तमान समस्याहरू र विभिन्न प्रतिवेदनलाई बेवास्ता गर्दै सरकारले पुराना घटनाको छानबिनको कुरा गरेर जनआँखामा छारो हाल्न खोजेको उनको आरोप थियो ।

त्यस्तै, मन्त्रीहरूको सम्पत्ति छानबिन तथा विभिन्न छानबिन समितिका प्रतिवेदन कार्यान्वयनमा पनि सरकार गम्भीर नरहेको काउचाको भनाइ थियो । मन्त्रीहरूमाथि उठेका प्रश्न र त्यस सम्बन्धमा तयार गरिएका प्रतिवेदन सार्वजनिक नगरी पुनः मन्त्री नियुक्त गरिनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उनले जिकिर गरिन् ।

सांसद काउचाले संसद् र आम नागरिकलाई उपेक्षा गर्ने सरकारी प्रवृत्ति गैरजिम्मेवारीपनको पराकाष्ठा भएको उल्लेख गर्दै सीमा सुरक्षा, मानवअधिकार प्रतिवेदन र मन्त्रीहरूसम्बन्धी छानबिनका विषयमा सरकारले अविलम्ब सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =