कांग्रेसभित्रै निरंकुशता सुरु भएको छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र स्थापना र निरंकुशताको अन्त्यका लागि स्थापित नेपाली कांग्रेसभित्रै निरंकुश प्रवृत्ति देखिन थालेको बताएका छन् ।

कोशी प्रदेशस्तरीय भेलालाई विराटनगरमा सम्बोधन गर्दै कोइरालाले मुलुकको लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गरे । उनले यस्तो अवस्थामा कांग्रेसले बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई थप सशक्त रूपमा अघि बढाउनुपर्ने बताए ।

‘२०३३ सालमा बिपी कोइरालाले लिनुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आज झन् बढेर गएको छ,’ उनले भने, ‘नेपाली कांग्रेस अब यही नीति लिएर अगाडि बढ्नुको विकल्प छैन ।’

कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र लोकतन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको धारणा राखे ।

‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन नेपालका सबै शक्तिबीच सहकार्य र एकता जरुरी छ,’ उनले भने ।

पार्टीभित्रको पछिल्लो विवादबारे बोल्दै कोइरालाले महामन्त्री गगन थापासँग भएको छलफलमा आफूले अघि सारेका पाँचवटा प्रस्तावमा सहमति जनाइए पनि त्यसलाई औपचारिक रूप दिन नसकिएको बताए ।

‘गगनजीसँग कुरा हुँदा मैले राखेका पाँचवटै कुरा स्वीकार गरिएको थियो । सहमति गर्न अहिले के कुराले रोक्यो ?’ उनले प्रश्न गरे ।

कोइरालाले गगन थापा आफ्नै निवासमा आएर पार्टीका नेता–कार्यकर्तालाई कारबाहीको चेतावनी दिएपछि आफू बाध्य भएर पाँच बुँदे प्रस्ताव सार्वजनिक गर्न पुगेको दाबी गरे ।

उनले कांग्रेसभित्र सहमतिबिनाको राजनीति सम्भव नरहेको उल्लेख गर्दै पार्टीले गिरिजाप्रसाद कोइरालाले अघि सारेको ‘सहमति, सहकार्य र एकता’को मार्ग अपनाउनुपर्ने बताए ।

‘सहमति, सहकार्य र एकताबाटै हामी हिँड्नुपर्छ । त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट सुरु गर्नुपर्छ,’ उनले भने ।

कोइरालाले पार्टी एकता आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा कांग्रेस फुट्न नदिने प्रतिबद्धता व्यक्त गरे । ‘म कुनै पनि हालतमा पार्टी फुट्न दिन्नँ र फुट्ने अवस्था आउन पनि दिन्नँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =