सरकार युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने अभियानमा छ: मन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई सरकारले राष्ट्रिय अभियानका रूपमा अघि बढाएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै मन्त्री यादवले रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताए ।

उनले रोजगारका अवसर विस्तार गर्न सरकार रोजगारदातासहित सम्बन्धित सरोकारवालासँग व्यापक छलफल र सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गरे ।

मन्त्री यादवले बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी प्रभावकारी कानुन निर्माणमार्फत पनि नवप्रवर्तन र रोजगारीका अवसर बढाउने लक्ष्य सरकारको रहेको बताए ।

‘हामी युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइरहेका छौँ,’ उनले भने, ‘अबको दशकमा सरकार र रोजगारदाताबीच सहकार्य गरेर रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा थप छलफल र काम गर्न आवश्यक छ ।’

उनले नेपालबाट निर्यात हुने अदुवा र चियाजस्ता उत्पादन विदेशी बजारमा प्रशोधन तथा प्याकेजिङपछि पुनः मूल्यवृद्धिसहित फर्किने अवस्थालाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । ‘बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी राम्रो कानुनको अभाव छ । त्यसलाई सुधार्नुपर्छ । यसले नवप्रवर्तन र उद्यमशीलतालाई समेत टेवा पुर्‍याउँछ,’ उनले भने ।

मन्त्री यादवले कुनै पनि नेपाली युवा रोजगारीको खोजीमा बाध्य भएर विदेश जानुपर्ने अवस्था अन्त्य गर्ने सपना आफूले देखेको बताए ।

‘नेपाल यस्तो बनोस्, जहाँ युवा विदेश जान बाध्य नहोस् । गए पनि सीप लिएर जाओस्, अनुभव लिएर फर्कियोस् र स्वदेशमै व्यवसाय तथा उद्यम सञ्चालन गरोस्,’ उनले भने ।

उनले विदेशमा रहेका युवालाई समेत स्वदेश फर्काएर रोजगारी तथा उद्यमका अवसर उपलब्ध गराउने लक्ष्यका साथ सरकार काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =