अब गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छ: दुर्गा प्रसाईँ

काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
प्रसाईंले सहकारी ठगीको पैसा जनताको करबाट तिर्ने प्रक्रिया सुरु हुने वित्तिकै वर्तमान सरकारको ‘दशा’ सुरु हुने र व्यवस्था नै नरहने बताए । उनले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत नेकपा (एमाले)लाई जस्तै ‘नाङ्गेझार’ पार्ने चेतावनी दिए ।
‘जसरी एमाले नाङ्गो बनाएको थिएँ, त्यसरी नै तपाईंहरूलाई पनि नाङ्गो बनाइन्छ,’ प्रसाईंले भने, ‘हिजो जसरी घर–घरमा आगो लगाइएको थियो, त्यसरी नै अहिले पनि सबै देखाइनेछ । अहिले कन्टेन्ट क्रिएटर राखिएको छ, २–४ जनालाई पैसा दिएर मुख छाड्न लगाइएको छ ।’
उनले आगामी आन्दोलनपछि वर्तमान व्यवस्था नै समाप्त हुने दाबी पनि गरे । ‘अब आन्दोलन हुन्छ । व्यवस्था जान्छ । यो पिँध नभएको गमला जस्तो भाँडो हो, यो टिक्दैन,’ उनले भने ।
प्रसाईंले सहकारी, स्वास्थ्य बीमा र दुग्ध किसानसँग सम्बन्धित भुक्तानीमा सरकार गम्भीर नभएको आरोप पनि लगाए ।
उनका अनुसार स्वास्थ्य बीमाको २२ अर्ब रुपैयाँ र दुग्ध किसानको करिब १० अर्ब रुपैयाँ भुक्तानी बाँकी छ भने किसानले मल समेत नपाएको अवस्था छ ।
‘सहकारी ठगेको पैसा बजेटमा राखेर तिर्ने कुरा भइरहेको छ, त्यो सुरु गर्यो भने उनीहरूको दशा त्यहीँबाट सुरु हुन्छ,’ उनले भने ।








