‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति  गगनकुमार थापाले बहुमतको आडमा कानूनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

आइतबार कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पार्टीका सांसदहरूलाई ‘कानूनको शासन’ र ‘कानूनद्वारा शासन’ बीचको भिन्नता बुझेर भूमिका निर्वाह गर्न निर्देशन दिए ।

उनले सरकारले आर्थिक रूपान्तरणका लागि प्रभावकारी काम गरे कांग्रेसको सहयोग रहने स्पष्ट पार्दै संविधान, विधि र कानून कार्यान्वयनको विषयमा भने कुनै सम्झौता नहुने बताए ।

थापाले वर्तमान सरकारले वि.सं. २०४८ सालको जस्तै राजनीतिक अनुकूलता र वि.सं. २०१५ सालको जस्तै जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै त्यसलाई मुलुकको हितमा परिणाममुखी ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए ।

‘सरकारले संसद्को बहुमतबाट कानून बनाउन सक्छ । तर कानून बनाउँदै गर्दा त्यो कानूनसम्मत छ कि छैन, विधिको शासन हो कि विधिद्वारा शासन भन्ने कुरामा ध्यान दिनुपर्छ,’ थापाले भने, ‘कानूनलाई आफ्नो फाइदाका लागि वा राजनीतिक हतियारका रूपमा प्रयोग गर्नु हुँदैन ।’

उनले सरकार संविधानको परिधिभित्र रहेर सञ्चालन हुनुपर्ने र कानून निर्माण प्रक्रियामा सबै पक्षलाई सहभागी गराउनुपर्ने धारणा राखे ।

‘म संविधानभन्दा माथि छैन, संविधानभित्र छु भन्ने चेत सरकारसँग हुनुपर्छ,’ उनले भने, ‘जहाँ यो हेक्का राखिँदैन, त्यहाँ नेपाली कांग्रेस नाफा–घाटाको हिसाब नगरी उभिन्छ र बोल्छ ।’

सभापति  थापाले कांग्रेस अनावश्यक रूपमा विवाद झिक्ने पक्षमा नरहेको पनि बताए ।

कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेटबारे पनि टिप्पणी गर्दै बजेटले मध्यम तथा न्यून आय भएका वर्गलाई कुनै ठोस राहत दिन नसकेको दाबी गरे ।

उनका अनुसार सरकारले आयकरको सीमा बढाएर राहत दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा करको भार थपेर नागरिकमाथि आर्थिक बोझ बढाएको छ । ‘अगाडिबाट राहत दिएको जस्तो देखाइयो, तर पछाडिबाट करको भार थपिएको छ,’ थापाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =