राजसंस्था पुनर्स्थापना नभई जनताले सुख र शान्ति पाउँदैनन्: दुर्गा प्रसाईँ

काठमाडौं ।  नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनर्स्थापना नभएसम्म देश र जनताले सुख तथा शान्ति प्राप्त गर्न नसक्ने दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रसाईंले राजसंस्था पुनर्स्थापनाका लागि धवलशमशेर राणासँग सहकार्य गरेर नयाँ राजनीतिक दल गठन गर्ने निर्णय गरिएको बताएका हुन् ।

उनले आफूहरू सनातन हिन्दु अधिराज्य स्थापना र राजसंस्था पुनर्स्थापनाको साझा उद्देश्यसहित अघि बढिरहेको उल्लेख गरे । प्रसाईंका अनुसार वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नभएसम्म देशमा स्थायित्व, सुख र शान्ति कायम हुन नसक्ने अवस्था रहेको छ ।

कार्यक्रममा बोल्दै उनले आफू र राणाबीच उद्देश्यमा पूर्ण समानता रहेको भन्दै सहकार्यमा कुनै प्रकारको विभाजन आउने सम्भावना नरहेको दाबी गरे ।

‘हाम्रो उद्देश्य एउटै छ—नेपालको भूगोल, त्यसको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको स्थापना । यही उद्देश्य पूरा नभएसम्म देश र नेपाली जनताले सुख र शान्ति पाउन सक्दैनन्,’ प्रसाईंले भने ।

उनले राजसंस्था पुनर्स्थापना भई राजा पुनः गद्दीमा बस्ने दिनको प्रतीक्षा रहेको पनि उल्लेख गरे । प्रसाईंले साझा लक्ष्यका कारण आफू र राणाबीचको सहकार्य दीर्घकालीन हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =