बाढी नियन्त्रणका लागि बेइजिङले पहाडी क्षेत्रमा पाँच वटा जलाशय बनाउने

एजेन्सी । बेइजिङले आफ्नो पहाडी क्षेत्रमा बाढी नियन्त्रणका लागि पाँचवटा जलाशय निर्माण गर्ने योजना अघि सारेको छ ।

चिनियाँ राजधानीले झन्डै आधा शताब्दी (५० वर्ष) यता पहिलो पटक यस्तो ठूलो पहल शुरु गरेको बेइजिङ जलस्रोत प्राधिकरणले बिहीबार जानकारी दिएको छ ।

यी पाँच जलाशयहरू योङदिङ, जुमा, दाशी र वेन्यु नदीहरूको माथिल्लो तटीय क्षेत्रमा अवस्थित छन् । प्राधिकरणका अनुसार हालका वर्षहरूमा बेइजिङले बाढी नियन्त्रण पूर्वाधार निर्माणलाई व्यापक रूपमा अगाडि बढाइरहेको छ ।

बाढीको पानीलाई रोक्न र बहाव कम गर्न प्रमुख नदीहरूको माथिल्लो क्षेत्रमा जलाशयहरू निर्माण भइरहेका छन्। त्यस्तै, नदीको मध्य भागमा पानीको बहाव तीव्र बनाउन नदी सफा गर्ने (ड्रेजिङ) र तटबन्ध सुदृढीकरण गर्ने काम भइरहेको छ ।

तल्लो तटीय क्षेत्रमा भने डुबान रोक्न ढल निकास र पानी फर्काउने प्रणालीलाई स्तरोन्नति गरिँदैछ। बाढी भण्डारण र नियन्त्रण क्षेत्रहरूसँग समन्वय गर्दा यी प्रयासहरूले वैज्ञानिक व्यवस्थापनमा मद्दत पुर्याउँछन्, जसले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्दछ ।

पाँच जलाशयमध्ये इरदाओहे र जुआनजिलिङ जलाशयको निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको छ भने तेस्रो सिफेङसान जलाशयको निर्माण कार्य शुरु भइसकेको बेइजिङ जलस्रोत संस्थानका सह–मुख्य इन्जिनियर याङ सियाओलेईले बताए ।

जुआनजिलिङ जलाशय निर्माणका प्रमुख लि जिगाङकाअनुसार जुआनजिलिङ जलाशयको मुख्य उद्देश्य बाढी नियन्त्रण गर्नु हो । वर्षायाममा यस जलाशयले बाढीको पानीलाई रोकेर तल्लो तटीय क्षेत्रको सुरक्षा गर्छ र बेइजिङ नगरपालिका प्रशासनिक केन्द्रको सुरक्षित सञ्चालन सुनिश्चित गर्दछ ।

बेइजिङमा हाल ८० वटा जलाशयहरू छन्, जसले ६,८३० वर्ग किलोमिटर पहाडी क्षेत्रलाई नियन्त्रण गर्दछ । यो सहरको कुल पहाडी क्षेत्रको ६८ प्रतिशत हो ।

यी पाँच जलाशयको निर्माण सम्पन्न भएपछि नियन्त्रित पहाडी क्षेत्र ६८ प्रतिशतबाट बढेर ८४ प्रतिशत पुग्नेछ, जसले बेइजिङको उत्तरी र पश्चिमी पहाडहरूमा जलाशयमा आधारित बाढी नियन्त्रणको एक मजबुत पर्खाल निर्माण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =