नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ ।

नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा हरेक दिन बिहान ८ः३० बजेदेखि बिरामी दर्ता सुरु हुने र दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले जानकारी दिए ।

अस्पतालले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अनुभवी नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट, नर्सिङ तथा प्राविधिक जनशक्तिमार्फत आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा हाल १६ जना नेत्र विशेषज्ञ, १ जना एनेस्थेसियोलोजिष्ट, ७ जना अप्टोमेट्रिष्ट, ३ जना फेलो समेत गरी जम्मा १५० जना कर्मचारी छन् । अस्पतालमा दैनिक करिब ७०० देखि ९०० बिरामीले सेवा लिने गरेका छन् भने मोतिबिन्दु, रेटिना, जलविन्दु, कर्निया तथा बाल आँखा रोग सम्बन्धी जटिल उपचार तथा शल्यक्रियासमेत नियमित रूपमा सञ्चालन हुने गरेको छ ।

नेपाल आँखा अस्पतालबाट बहिरङ्ग सेवा, विशेषज्ञ परामर्श सेवा, मोतिबिन्दु क्लिनिक, बाल आँखा सेवा, अर्थोप्टिक्स सेवा लगायतका विविध उपचार सेवा उपलब्ध छन् । त्यसैगरी, २४ सै घण्टा आकस्मिक सेवा तथा अन्तरङ्ग (इन–पेसेन्ट) सेवा सञ्चालनमा रहेकाले आकस्मिक अवस्थामा समेत बिरामीले निरन्तर सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

शल्यक्रिया सेवाअन्तर्गत मोतिबिन्दु, रेटिना, ग्लुकोमा, कर्निया तथा बाल नेत्ररोगसम्बन्धी शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =