घरमै बसेर सासू–ससुराको सेवा गर्ने ८० बुहारी सम्मानित

अर्घाखाँची । अर्घाखाँचीका सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ असी असल बुहारीलाई सम्मान गरेको छ ।
पछिल्लो समय वृद्ध बुबाआमाको स्याहारसुसार गर्ने परम्परा कमजोर बन्दै गइरहेका बेला घरमै बसेर सासू–ससुराको सेवा गर्दै आएका बुहारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
नगरपालिकाका १२ वडाबाट छनोट गरिएका ८५ देखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको नियमित रूपमा हेरचाह गर्ने ८० जना बुहारीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियारले वृद्धवृद्धाको दैनिक हेरचाह, दिसापिसाब गराउने, खानपानको व्यवस्था मिलाउने, समयमै औषधि खुवाउने तथा आवश्यक स्याहारसुसार गर्ने बुहारीहरूलाई वडा कार्यालयको सिफारिसका आधारमा छनोट गरी सम्मान गरिएको बताए ।








