आध्यात्मिक पर्यटन प्रवर्धन गर्न योजनासहित प्रचारप्रसार गर्नुपर्नेमा जोड

लुम्बिनी । लुम्बिनी क्षेत्रमा आध्यात्मिक पर्यटन प्रवर्धन गर्नका लागि विशेष योजना (प्याकेज) बनाएर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको छ ।

पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान बनाउँदै रोजगारीका अवसर सृजना गर्न पर्यटन प्रवर्धन गर्नुपर्ने भएकाले विशेष योजनासहित प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको हो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बिनीको आयोजनामा बुटवलमा आज सम्पन्न भएको नेपाल–भारत पर्यटन पत्रकार भेटघाट कार्यक्रममा सहभागी वक्ताहरूले आध्यात्मिक पर्यटन प्रवद्र्धनमा जोड दिएका हुन् ।

भारतीय पर्यटक लक्षित आध्यात्मिक पर्यटनको प्याकेज बनाएर त्यसको प्रवर्धन र प्रचारप्रसार गर्नुपर्नेमा सहभागीको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले कालिगण्डकी हुँदै मुक्तिनाथ लाखौँ भारतीय तीर्थयात्री जाने वातावरण बनाउन सके धार्मिक पर्यटन प्रवर्धन हुने बताए ।

भारतको ताजमहल जस्तै पाल्पाको रानिमहल, बुद्धजन्मस्थल लुम्बिनी, प्युठानको स्वर्गद्वारी, रुपन्देहीको सिद्धबाबा, शालिग्राम पाइने एक मात्र तीर्थस्थल कालिगण्डकी हुँदै मुक्तिनाथसम्म र गुल्मीको रेसुङा, अर्घाखाचीको सुपादेउराली यी सबै ऐतिहासिक महत्त्व बोकेका धार्मिक क्षेत्रलाई समेटेर सस्तो धार्मिक पर्यटन प्याकेज बनाउनुपर्नेमा उनले जोड दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख जनकबहादुर शाहीले नेपाल घुम्न आउने भारतीय पर्यटकलाई नेपालमा ढुक्क भएर भ्रमण गर्न अनुरोध गरे । बुटवलस्थित होटल हायतका अध्यक्ष चुन्नुप्रसाद पौडेलले नेपालको आध्यात्मिक, प्राकृतिक तथा ऐतिहासिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पर्यटकलाई विशेष सुविधा दिँदै आइएको जानकारी दिए ।

भारतस्थित महाराजगञ्ज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले भारतीय पर्यटक लक्षित योजनालाई साकार पार्न भारतमा प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएर सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =