तराई मधेशमा धर्मको नाममा दंगाः नागरिकमाथि बर्सिरहन्छ गोली !

काठमाडौं । आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका युवाहरूको एक समूह बोलबम यात्राका लागि निस्कियो । सप्तकोशी नदीतर्फ जाने तयारीमा ठुलो आवाजमा डीजे बजाइरहेका युवाहरूलाई रातिको समयमा चर्को आवाजले असुविधा भएको भन्दै छिमेकी पक्षले विरोध जनाए ।
यही विषयमा सुरु भएको भनाभन बिस्तारै केही बेरमै कुटाकुट, ढुंगामुढा, आगजनी र तोडफोडमा परिणत भयो । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज, अश्रुग्याँस र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्का दाबी गर्छन् ।
उक्त घटनामा प्रहरीको गोली लागेर देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भइसकेको छ भने, घटनामा घाइतेको संख्या २२ पुगेको छ ।
घाइतेमध्ये स्थानीय २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता, २० वर्षीय अमितकुमार यादव, २१ वर्षीय रवीन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनीलकुमार मेहता र २६ वर्षीय सुनीलकुमार मेहताको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र कोशी अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रहरीका अनुसार झडपमा प्रहरी निरीक्षक राकेश राईसहित १३ जना सुरक्षाकर्मी घाइते भएका छन् । थप हिंसा भड्किन नदिन सुनसरी प्रशासनले जिल्लाका विभिन्न पाँचवटा क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । तर, आक्रोशित स्थानीयले कफ्र्यु उल्लंघन गर्दै पसलहरू तोडफोड गर्नुका साथै आगजनी गरेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शनसमेत गरेका थिए । यद्यपि अहिले भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सुरक्षा संयन्त्रमाथि प्रश्न
गत भदौको जेनजी आन्दोलन पछि भएको यस घटनाले सिंगो मुलुकको ध्यान केन्द्रित गरेको छ । घटनाबारे सामाजिक सञ्जालमा सुरक्षा संयन्त्रमाथि प्रश्न उठिरहेको छ । नागरिकको सुरक्षा संवेदनशीलतालाई ख्यालै नगरी सामान्य विवादमा समेत गोली चलाइएको भन्दै प्रहरीमाथि प्रश्न उठेको हो । सुरक्षा निकायले भने अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको दाबी गरेको छ ।
तर, घटना लगत्तै राति नै कप्तानगञ्ज नयाँ हटिया पुगेका रास्वपाका सांसद लालविक्रम थापाले भने सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले घटनाबारे प्रहरी अधिकारीहरूसँग गरेको ब्रिफिङको भिडिओ आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए । उक्त भिडियोमा उनले १० जनालाई ताकिताकी छाती र पेटमा गोली हानेको दाबी गर्दै कोही गोली लागेर खाल्टोतिर हालेको हुन सक्ने आफूलाई शंका लागेको पनि बताएका छन् । ‘कुनै पनि हालतमा यस घटनामा गोली चलाउनुपर्ने अवस्था थिएन,’ उनले भने, ‘हातमा हतियार छ भन्दैमा नागरिकमाथि गोली चलाउनु स्वीकार्य हुन सक्दैन ।’
यस्तै, घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन् ।
मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको उनको सचिवालयले जनाएको छ ।
सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
सरकारले भने सुनसरीमा भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
गृह मन्त्रालयका सह प्रवक्ता रमा आचार्यका अनुसार मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिलाई घटनाको अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।
समितिको सदस्य सचिवका रूपमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) रहने जनाइएको छ । समितिले घटनाको कारणबारे अध्ययन गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसमेत सरकारलाई दिनेछ ।
सामाजिक सद्भाव कायम राख्ने सहमति
सुनसरीको देवानगञ्जमा भएको दुई समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ । आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको हो ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकले राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्ने सहमति गर्दै गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय समेत गरेको छ ।
बैठकको निर्णयपछि जनप्रतिनिधि र सामाजिक र धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम गर्नका लागि पहल सुरु गरिसकेका छन् ।
चेतनाको कमी की सुरक्षा कमजोरी ?
मधेशमा बोलबम, छठ, मूर्ति विसर्जन र विभिन्न धार्मिक जुलुसहरू निकै उत्साहका साथ मनाइन्छ । यी पर्वहरू नागरिकको भावनासँग जोडिएका हुन्छन् । तर, पछिल्लो समय परम्परागत भजन र कीर्तनको ठाउँ, ठुलो आवाजमा बजाइने डिजेलगायतका ध्वनि यन्त्रहरूले लिँदा समस्या निम्त्याएको छ । श्रद्धा र भक्ति प्रकट गर्ने शैलीमा आएको यो परिवर्तनले कतिपय अवस्थामा अरूको शान्ति र सुविधालाई खलल पुर्याइरहेको हुन्छ ।
देवानगञ्जको घटनामा पनि रातिको समयमा चर्को आवाजले असुविधा भएको भन्दै एक पक्षले गरेको विरोधलाई अर्को पक्षले आफ्नो धार्मिक आस्थामाथिको प्रहारका रूपमा बुझ्दा विवाद सुरु भएको देखिन्छ । जब धर्मलाई व्यक्तिगत वा सामूहिक अहम्तासँग जोडिन्छ, तब सामान्य कुराले पनि उग्र रूप लिने गर्दछ । यस्तो अवस्थामा आस्थालाई कसरी मर्यादित र अरूको अधिकारको सम्मान गर्दै मनाउने भन्ने विषयमा नागरिक स्तरमा पर्याप्त चेतनाको कमी देखिन्छ । धर्मशास्त्रविद् पनि धर्मले मानिसलाई अनुशासित बनाउनुपर्नेमा उल्टै उग्र बनाउनु चेतनाको अभाव भन्छन् ।
यस्ता संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीहरू सधैँ दोधारमा हुन्छन् । भीड नियन्त्रणका क्रममा प्रयोग गरिने बल कहिलेकाहीँ प्रत्युत्पादक बनिदिन्छ । देवानगञ्जमा प्रहरीले आत्मरक्षा र भीड तितरबितर पार्न गोली चलाउनुपर्ने परिस्थिति आउनुले राज्यको सुरक्षा संयन्त्र र नागरिकबीचको सम्बन्धमा रहेको कमजोरीलाई पनि झल्काउँछ । त्यसैले अब मधेशका जिल्लाहरूमा धार्मिक जुलुस वा यात्रा हुनुअघि नै स्थानीय प्रशासनले सम्भावित जोखिमको आंकलन गर्न जरुरी छ ।
घटना घटेपछि निषेधाज्ञा लगाउनु वा गोली चलाउनु समाधान होइन, घटना घट्न नदिने वातावरण सिर्जना गर्नु नै राज्यको मुख्य सफलता हो । अन्यथा, यस्ता घटनाले दीर्घकालीन रूपमा सामाजिक सद्भाव बिथोल्ने र समुदायहरूबीच अविश्वासको पर्खाल खडा गर्ने जोखिम रहन्छ । अहिलेको अवस्थामा मधेशको समृद्धि र शान्तिका लागि सामाजिक सद्भाव कायम राख्न जरुरी छ ।








