पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा

तानसेन ।  जिल्ला प्रशासन कार्यालय पाल्पाले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालयमार्फत घरघरमा पुर्‍याउन थालेको छ ।

सरकारको नीतिअनुसार राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याउन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच गत वैशाखमा भएको सम्झौतापछि पहिलो चरणमा तीन वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ । तीन वटा राहदानीमध्ये एउटा नवलपरासीपूर्वमा दर्ता भएको रहेको छ ।

जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी टङ्क भण्डारी र खरिदार रमेश ढकालसहित गएको जिल्ला हुलाकको टोलीले रम्भा गाउँपालिका–५ का सुमित बाह्रघरे, माथागढी गाउँपालिका–६ का लेखबहादुर गाहा र तानसेन नगरपालिका–१ की दीक्षा खातीको घरमा पुगेर बुधबार राहदानी हस्तान्तरण गरेको हो ।

बाह्रघरे र गाहाले पाल्पामै दर्ता गरेका र खातीले नवलपरासीपूर्वमा दर्ता गरेका राहदानी उनीहरूकै घरमा पुगेर दिइएको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

सरकारको सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यअनुसार यो अभियान सुरु गरिएको उनले बताए । उनले भने, “जिल्ला प्रशासन कार्यालयबाट घरदैलोमा नै राहदानी बुझ्ने दर्ता फाराम भरेका सेवाग्राहीको राहदानी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरी सम्बन्धित सेवाग्राहीलाई डेलिभरीको सुरुआत गरेका छौँ ।”

जिल्ला सदरमुकामबाट टाढा रहेका सेवाग्राहीहरूले राहदानी लिनका लागि मात्र सदरमुकामसम्म आउनुपर्ने झन्झटबाट मुक्ति मिलेको र समय तथा स्रोतको बचत पनि भएको सूचना अधिकारी भण्डारीको भनाइ छ ।

उनका अनुसार राहदानीसमेत छिटो आउने गरेको छ । जेठ १५ गते दर्ता गरेका राहदानी १५ दिनमै आएको भण्डारीले बताए ।

घरमै राहदानी आएपछि सेवाग्राही उत्साहित भएका छन् । हुलाकबाट घरमै आएर राहदानी दिएपछि आफूलाई अत्यन्त खुसी लागेको माथागढी गाउँपालिका–६ का लेखबहादुर गाहाले बताए ।

उनले भने, “यस्तो दिन पनि आउला भनेर कल्पना गरेको थिएन, हरेक कागजातका लागि तानसेन नै जानुपर्थ्यो, यसले हामीहरूको समय मात्र होइन खर्चसमेत बचत भएको छ ।” घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीका लागि तयारीमा रहेका सेवाग्राहीका लागि यो कार्य उपयोगी हुने सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जिल्ला हुलाक कार्यालयमा राहदानी पठाएपछि सेवाग्राहीको ठेगानाअनुसार नजिकको हुलाक कार्यालयमा पठाइन्छ । हुलाक कर्मचारीमार्फत घरमै राहदानी पुर्‍याइने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नम्बर २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गोभरमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्थाअनुसार पाल्पामा पनि सेवा सुरु गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =