भियतनाममा १२ लाखभन्दा बढी विद्यार्थी राष्ट्रिय उच्च माध्यामिक परीक्षामा सम्मिलित

एजेन्सी । भियतनामभर १२ लाखभन्दा बढी विद्यार्थी बिहीवारदेखि शुरु भएको राष्ट्रिय उच्च माध्यमिक विद्यालय स्नातक परीक्षामा सहभागी भएका छन् ।
भियतनाम समाचार एजेन्सीकाअनुसार यस परीक्षामा गणित र साहित्य गरी दुईवटा अनिवार्य विषयहरू समावेश गरिएका छन्।
यसका साथै परीक्षार्थीहरूले भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, औद्योगिक प्रविधि, कृषि प्रविधि, सूचना प्रविधि, विदेशी भाषा, इतिहास, भूगोल, र अर्थशास्त्र तथा कानुनमध्येबाट कुनै दुईवटा ऐच्छिक विषय रोजेर परीक्षा दिनुपर्ने व्यवस्था रहेको छ ।
स्थानीय सञ्चारमाध्यम भीनएक्सप्रेसका अनुसार यस वर्ष निजी परीक्षार्थीहरूको संख्या ६३,८०० भन्दा बढी रहेको छ, जुन सन् २०२० यताकै सबैभन्दा उच्च संख्या हो । यो राष्ट्रिय परीक्षा बिहीबार र शुक्रबार गरी कुल डेढ दिनसम्म सञ्चालन हुनेछ ।
भियतनामले सन् २०१५ देखि उच्च माध्यमिक तह पूरा गरेको प्रमाणपत्र प्रदान गर्नका लागि यो परीक्षा प्रणाली अपनाउँदै आएको हो। यस परीक्षाको नतिजालाई विश्वविद्यालय तथा कलेजहरूमा भर्ना पाउनका लागिसमेत मुख्य मापदण्डको रूपमा लिइन्छ ।








