ट्रम्पद्वारा जे क्लेटन राष्ट्रिय गुप्तचर निर्देशकमा मनोनित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार धितोपत्र तथा विनिमय आयोगका पूर्वअध्यक्ष जे क्लेटनलाई नयाँ राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा मनोनीत गरेका छन् ।

यसअघिका उम्मेदवारले संसद्का दुवै दलको तीव्र विरोध सामना गर्नुपरेपछि क्लेटनलाई यो जिम्मेवारीका लागि अघि सारिएको हो । क्लेटन कानुन व्यवसायी संस्था सुलिभान एण्ड क्रोमवेलका पूर्वप्रमुख हुनुका साथै न्युयोर्कको दक्षिणी जिल्लाका लागि वर्तमान अमेरिकी सरकारी वकिलसमेत हुन् ।

सङ्घीय आवास वित्त निकायका प्रमुख बिल पुल्टेलाई राष्ट्रिय गुप्तचर निकायको कार्यवाहक निर्देशक नियुक्त गर्ने ट्रम्पको निर्णयप्रति दुवै दलबाट असन्तुष्टि र दबाब बढेपछि यो नयाँ घोषणा सार्वजनिक भएको हो ।

पुल्टेले जुन १९ देखि कार्यवाहक निर्देशकको पदभार ग्रहण गर्ने तय भएको थियो । यसअघि गत मे महिनाको अन्त्यतिर, हवाईकी पूर्व डेमोक्र्याटिक सांसद तुलसी ग्याबार्डले राष्ट्रिय गुप्तचर निर्देशकको पदबाट राजीनामा दिएका थिए, जो ट्रम्पको दोस्रो कार्यकालमा राजीनामा दिने चौथो क्याबिनेट अधिकारी बनेका छन् ।

सामाजिक सञ्जाल एक्समा आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै ग्याबार्डले पारिवारिक कारण देखाउँदै जुन ३०, २०२६ देखि लागू हुनेगरी पद त्याग्ने घोषणा गरेका थिए ।

यद्यपि, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार फेब्रुअरी २८ मा शुरु भएको इरानविरुद्धको अमेरिका–इजरायल सैन्य कारबाहीप्रति ग्याबार्डको असहमति नै उनको राजीनामाको भित्री कारण हुनसक्ने अनुमान गरिएको छ ।

गत मार्चमा सिनेटको गुप्तचर समितिलाई बुझाएको लिखित प्रतिवेदनमा ग्याबार्डले अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा ध्वस्त पारेका कारण उसले आणविक क्षमता पुनर्जीवित गर्ने कुनै प्रयास नगरेको दाबी गरेका थिए ।

यो मूल्याङ्कन राष्ट्रपति ट्रम्पको दाबीसँग बाझिएको थियो, जसले इरानबाट तत्कालै आसन्न खतरा रहेको भन्दै आक्रमण आवश्यक भएको दलिल पेश गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =