कुलमान भन्छन्– बागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रदेश सभाको निर्वाचनपछि बागमती प्रदेश सरकारको नेतृत्व आफूहरूले गर्ने दाबी गरेका छन् ।
बुधवार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले सशक्त उपस्थिति जनाउने दाबी गरेका हुन् ।
२०८४ सालमा स्थानीय तथा प्रदेश सभाको निर्वाचन हुने उल्लेख गर्दै उज्यालो नेपाल पार्टीले धेरै स्थानमा विजय हासिल गर्ने बताए । विशेष गरी बागमती प्रदेशमा सरकार बनाउने गरी काम गरिरहेको उनको भनाई छ । बागमती प्रदेशका साथै अन्य प्रदेशहरूमा पनि सरकार बनाउने लक्ष्यका साथ काम गर्ने उनले बताए ।
पार्टीले बागमती प्रदेशलाई राजनीतिक विस्तारको केन्द्र बनाएर संगठन सुदृढीकरण तथा विस्तारको अभियान तीव्र बनाइरहेको उनको भनाई छ । अध्यक्ष घिसिङले विगतमा राजनीतिक अनुभवको कमीका कारण आफूहरू षड्यन्त्रमा फसेको उल्लेख गर्दै अब कसैको षडयन्त्रको सिकार नहुने बताए ।
पार्टीको अस्तित्व र पहिचान जोगाउन आफू अन्तिमसम्म लागिरहने उनको भनाई छ । अब जनताको विश्वास जितेर उज्यालो नेपाल पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उनले बताए ।
उनले भने ‘हिजो हामी केही समय अलमलिऔँ । राजनीति सुरु गरेपछि, राजनीतिमा लागेपछि धेरै कुरा जान्नुपर्दो रहेछ । षड्यन्त्र गर्न पनि जान्नुपर्दो रहेछ । हामी षड्यन्त्र गर्ने परेनौँ, षड्यन्त्रमा फस्यौँ । अब षड्यन्त्र होइन, हामी यो देशको एउटा सशक्त पार्टीको रूपमा, शक्तिको रूपमा जनताको विश्वास कमाएर हामी स्थापित हुनेछौँ । हामी चुनाव हायौँ । आज चुनाव हारेको पार्टी, संसदमा हामी एकजना पनि छैनौँ । तर देशैभरि उज्यालो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ, त्यो त्यसै चलेको छैन, होला । उज्यालो पार्टीको भविष्य देखेर, यसको उद्देश्य देखेर, यसको भिजन देखेर र यसको नेतृत्व देखेर आउनुभएको होला । उहाँहरूको जुन किसिमको विश्वास छ, हामीले त्यो विश्वासलाई अगाडि बढाएर आगामी निर्वाचनहरूमा र त्यसपछिका निर्वाचनहरूमा उज्यालो नेपाल पार्टीलाई एक नम्बरको पार्टी बनाएर मात्रै हामी विश्राम लिनेछौँ । हिजो चुनाव अगाडि धेरै ठूलो अपेक्षा थियो ।
तर चुनाव सकिएपछि एउटा पनि सिट जित्न नसक्दाखेरि जुन किसिमको निराशा पैदा भएको थियो, धेरै साथीहरूले उज्यालो नेपाल पार्टी नै कता जाने हो भन्ने चिन्ता व्यक्त गर्नुभएको थियो । अब त्यो चिन्तालाई दूर गरिदिनुस्, मैले भनेको छु म एक्लै भएसम्म यो पार्टीलाई अगाडि बढाउनेछु, कुनै पनि पार्टीमा यो गएर मिसिने छैन । यो पार्टीको आइडेन्टिटी, यो पार्टीको जुन पहिचान छ, यो पार्टीले बोकेको सिद्धान्त छ, त्यसलाई हामीले मर्न दिने छैनौँ ।
यो पार्टीमा धेरै पार्टीका साथीहरू जोडिनुभएको छ, अरू पार्टीहरू मिसिन आउनुभएको छ, एकता गर्न आउनुभएको छ । त्यो एकता र एकीकरणको विषयलाई हामी स्वागत गर्छौँ । तर यो पार्टीको जुन किसिमको हाम्रो पहिचान छ, जुन किसिमको हाम्रो सिद्धान्त छ र एउटा डेलिभरी दिने पार्टी र यो पार्टीमा, पार्टीको जुन नाम र यो पार्टीको जुन सिद्धान्त छ, त्यसलाई निमिट्यान्न पारेर फेरि पनि हिजोको १२ दिन जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिन गएको जस्तो त्यो कदापि हुँदैन । अब हामी स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा जाँदै छौँ ।
करिब एक वर्ष भित्र, एक वर्ष पनि छैन, करिब आठ–नौ महिना भित्र चुनाव आउँदै छ । त्यो चुनावमा अब उज्यालो नेपाल पार्टीले आफ्नो सशक्त प्रतिनिधित्व गर्नेछ र धेरै ठाउँमा हामी जित्नेछौँ । बागमती प्रदेशको सरकार हामीले बनाउनेछौँ । बागमती प्रदेश मात्रै हैन, अरू ठाउँको पनि सरकार बनाउनेछौँ । यो देशको मुटु बागमती प्रदेशलाई केन्द्रमा राखेर हामी हाम्रो पार्टीले संगठन विस्तार गर्ने काम गरिरहेका छौँ ।’
उनले गत निर्वाचनमा पार्टीले चुनाव हारे पनि देशभरि पार्टीमा प्रवेश गर्नेहरूको लहर रहेको दाबी गरे । पार्टीको उद्देश्य, भिजन र नेतृत्वप्रतिको विश्वासका कारण मानिसहरू जोडिइरहेको उनको दाबी छ । आगामी निर्वाचनमा पार्टीलाई नम्बर एक बनाउने लक्ष्यसहित अघि बढेको उनले बताए ।








