प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिनु दुर्भाग्यपूर्ण: ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरण दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।
उनले बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीहरूले स्पष्टीकरण दिनेकुरा विश्वमा कहीँ नभएको जिकिर पनि गरे ।
नेपालको इतिहासमा प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टीकरण मन्त्री खनालले दिएर सरकार उल्टो गतिमा हिँडेको नेता शाहीको भनाई थियो ।
उनले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटि भएकाले उनी आफूले संसदमा आएर सच्याउनुपर्ने अडान दोहोर्याए ।
नेता शाहीले भने ‘प्रधानमन्त्रीले अभिव्यक्तिबारे माननीय परराष्ट्रमन्त्रीले जुन अभिव्यक्ति दिनुभयो । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सायद यस्तो अवस्था देखियो तपाईँले इतिहास पल्टाएर हेरे हुन्छ । नेपालको इतिहास मात्रै होइन, विश्वकै इतिहास पल्टाउनुहोस् । तपाई हामी भन्दा पनि कलिला मान्छे प्रधानमन्त्री भएको देश पनि छ । तपाई हामी भन्दा क्षमतावान् प्रधानमन्त्री पनि विभिन्न देशमा भएका छन् । नेपालको राजनीतिक इतिहासमा मात्रै होइन, विश्वको राजनीतिक इतिहासमा पहिलो पटक यस्तो अवस्था देखिएको छ । जहाँ देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट भएको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटि मन्त्रीहरूले सच्याउनुपर्ने परिस्थिति आयो । सामान्यतया जिम्मेवार परिपक्व शासन व्यवस्थामा यसको ठिक उल्टो हुन्छ त्यो व्यवस्थामा । मन्त्री, सांसद वा अन्य पदाधिकारीबाट कुनै त्रुटि भए प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गर्दै त्यसलाई सच्याउँछन्, राष्ट्रिय धारणा स्पष्ट पार्दछन् । र, मुलुकलाई एकीकृत दिशामा अघि बढाउँछन् । तर दुर्भाग्यवश आज हामीले त्यसको विपरीत दृश्य देखिराखेका छौ । त्यसो भएको हुनाले सम्माननीय सभामुख महोदय अहिले पनि हाम्रो धारणा के छ भने यो संसदको रेकर्डबाट हटाइयोस् । यो प्रधानमन्त्रीज्यूको लागि नै हो । यो हामी भन्दा बढी सत्ता पक्षका लागि नै हो । किनभने यो कुनै सत्ता र शक्तिको कुरा होइन । शासनको कुरा होइन यो । कुनै ऐनको कुरा होइन, यो भूभागको कुरा हो । अति संवेदनशील कुरा हो ।’
नेता शाहीले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पछि नेपाल भारत सीमा क्षेत्रमा जनताले दुःख झेल्नु परिरहेको भन्दै आपत्ति जनाए ।








